निर्वाचन आचारसंहिता लागु हुँदै, साइकल प्रयोग गर्न नपाइने

दाङ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।
आचारसंहिता लागु भएपछि कुनैपनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न बर्जित गरिएको निर्वाचन आचार संहितामा उल्लेख छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ ।
आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।