धु्रवीकरण गर्न वामपन्थी र दक्षिणपन्थी शक्ति मात्रै आवश्यक : महासचिव पोख्रेल

घोराही । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालको राष्ट्रिय राजनितीलाई धु्रवीकरण गर्न वामपन्थी र दक्षिणपन्थी शक्ति मात्रै आवश्यक रहेको बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले देशको सर्वोपरी हीतका लागि दुुई राजनीतिक शक्ति स्थापित हुुनुुपर्ने बताए । उनले आउने वर्ष नेपाली नागरिकले दुई धु्रवीकरण गर्ने शक्ति पहिचान गर्नेमा विश्वस्त रहेको बताउँदै निर्वाचनमार्फत देशलाई अग्रगामी निकास दिन अपिल गरे ।

अहिलेको परमादेशी सरकार नागरिकका लागि सरकार जस्तो नभएको दावी गर्दै उनले अब नयाँ जनदेशबाट जनवैधता कायम गर्न निर्वाचनमा नेकपा एमाले होमिएको बताए । आसन्न स्थानीय निर्वाचनका लागि पार्टीले यही महिनाको मसान्तसम्ममा उम्मेदवार सिफारिस गर्ने हुँदा विगतको कामको मुल्यांकन गर्दै प्रोत्साहित गरिने प्रष्ट पारे ।

विकास र सुशासनको प्रष्ट दृष्टिकोण भएकाहरु स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्राथमिकतामा पर्ने उनको भनाई थियो । पत्रकार सम्मेलन प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस