मेचीकालीमा किड्स ओलम्पियाड

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा अवस्थित मेचीकाली आवासीय विद्यालयले सञ्चालन गरेको पहिलो किड्स ओलम्पियाड खेलमा बालबालिकाहरूले अतिरिक्त क्रियाकलाप प्रदर्शन गरेका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको विकासमा सहयोग पु¥याउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतले जानकारी दिए । पढाइसँगैसँगै विद्यार्थीलाई संस्कार र अनुशासनसँग जोड्न आवश्यक रहेको भन्दै विद्यालयले यो अभ्यास गरेको प्रिन्सिपल रावतले बताए ।

किताबी ज्ञान सिकाउने केन्द्र मात्र नभएर बालबालिकाको चौतर्फी विकासको केन्द्रका रुपमा विद्यालय अग्रसर हुनु आजको आवश्यक रहेको उनको भनाई थियो । किड्स ओलम्पियाड खेलमा सहभागी भइसकेपछि बालबालिकाको खोज र सहकार्यलाई प्रोत्साहित, बालबालिकाहरूको आत्मसम्मान बढाउन, शारीरिक, मानसिक, भावनात्मक तथा समग्र बच्चाको विकासमा समेत सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा चम्चा–दौड, घस्रिएर हिँड्ने, वेलुन नृत्य, पिटी, टाउकोमा सामग्री राखेर दौड्ने, बोरा दौड, पजल रेसलगायतका प्रतियोगीता आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्म केसीको अध्यक्षता तथा घोराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस