अब पार्टी र जनताको लागि काम गर्छु : मास्के

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य धनबहादुर मास्के (राजेश)ले पश्चिम दाङमा पार्टीको नेतृत्व पंक्ति दूरी रहेको अवस्थामा आफू आएपछि पुलको काम गर्ने बताए । बिहीबार शान्तिनगर गाउँपालिका ५ को रगैजामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफू लामो समयपछि दाङ जिल्लामा आएको र त्यो पनि पश्चिम क्षेत्रमा आएको भन्दै अब पार्टी र जनताको लागि काम गर्ने बताए । उनले भने, ‘पश्चिम दाङमा लिडरसिप पङ्क्तिमा दूरी थियो । अब मेरो उपस्थितले केही हदसम्म पुलको काम गर्ने भूमिका निर्वाह गर्ने छ । म मेरो निर्वाचन क्षेत्रमा आएको छु । हाम्रो उद्देश्य स्थानीय तहको निर्वाचनमा मात्र नभई अब हुने प्रदेश र संघको निर्वाचनमा पनि पार्टीलाई पश्चिम दाङमा पहिलो बनाउने हो ।’

उनले संसदीय अभ्यासमा आउँदा सत्ताको लाभ लिन प्रक्रियामा जाँदा कुनै न कुनै रुपमा आफूहरू खस्किएको भन्दै अब त्यसो हुन नदिने सबै नेताहरू सच्चिएर अगाडि बढ्ने समेत बताए । त्यसैगरी उनले आउँदो बैशाख ३० गते हुने निर्वाचनमा पार्टीलाई प्रमुख पार्टी बनाउनको लागि तीब्र रुपमा लाग्न आग्रह गरे । उनले भने, ‘हामी संसदीय अभ्यास गरिरहेका छौँ । अबको निर्वाचनमा हामीले साम, दाम, दण्डभेदको प्रयोग गर्न जान्नु पर्छ । जुन ठाउँमा जे चिजको आवश्यक छ । त्यसैको प्रयोग गरेर पार्टीलाई जिताउनु पर्छ ।’ त्यस्तै उनले पश्चिम दाङका सबै स्थानीय तहमा निर्वाचित हुनको लागि पनि आधार तयार गरेर काम गर्न पनि आग्रह गरे ।

त्यस्तै उनले दाङका पार्टीका पुराना नेता कुबेर वली माथि पार्टीले अन्याय गरेको बताए । उनले भने, ‘हाम्रो लागि उहाँ नै नेता हो । २०५२ सालमा मैले उहाँको हातबाट पार्टी सदस्यता लिएको थिए । आन्दोलनको क्रममा जिम्मेवारीको हेरफेरमा हामी तलमाथि भएको हौला । तर, उहाँ हाम्रो लागि अग्रज हो । हाम्रो नेता हो ।’

त्यस्तै उनले कुवेर वलीलाई अहिले पार्टीले कुनै पनि जिम्मेवारी नदिएको अवस्थामा उहाँ साधारण सदस्यमा रहेर त्याग र धैर्यता पार्टीको लागि हिँडिरहेको भन्दै प्रशंसा गरे । उनले उहाँको लागि आफ्नो तर्फबाट न्याय दिनको लागि पहल गरिरहेको भन्दै अबको केही समयमा खुशीको कुरा आउने समेत बताए । त्यस्तै उनले उहाँलाई पार्टीले न्याय दिने र यदि इतिहासको सही मूल्यांकन नभए दुर्भाग्य निम्तिने भन्दै त्यस्तो दुर्भाग्य हुन नदिन पार्टीले ध्यान दिनु पर्ने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेता कुबेर वलीले पार्टीले आफूलाई अन्याय गरेको गुनासो गरे । उनले अहिलेसम्म पार्टीमा गरेको योगदान, बलिदान र मूल्य मान्यतामा रहेका इमानदार पूर्वका काम गरेको भएयता पनि पार्टीले अहिले जिम्मेवारी विहीन बनाएको समेत गुनासो गरे । उनले भने, ‘म पहिला पार्टीको केन्द्रिय सदस्य भएर काम पनि गरेको थिए । संविधानसभा सदस्य भएर पनि काम गरे । तर, अहिले पार्टीले कुनै जिम्मेवारी दिएको छैन् । तर, पनि म पार्टीको लागि अहिले पनि काम गर्दै आएको छु ।’

त्यस्तै उनले आफूलाई पार्टीले कुनै पनि जिम्मेवारी आफू यो पार्टी बाहेक अन्यत्र कतै नजाने भन्दै अहिले आफू विरुद्ध विपक्षीले विभिन्न भ्रम फैलाइरहेको भन्दै यस्ता कुरामा कुनै पनि शंका नमान्न नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै अहिले केन्द्रमा गठबन्धनबाट स्थानीय निर्वाचनमा जाने कुरा भइरहेको भन्दै गठबन्धनमा भर नपर्ने समेत आग्रह गरे । त्यस्तै उनले गठबन्ध भएपनि नभएपनि निर्वाचनमा पार्टीका सबै कार्यकर्ताहरुलाई एक भएर काम गर्न पनि आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीले पार्टी अहिले सरकारमा रहेको भन्दै पार्टीले गरेका राम्रा कामहरु जनताको सामु लैजान समेत आग्रह गरिन् । त्यस्तै उनले अहिले विभिन्न कामहरु भइरहेको भन्दै त्यो कसले ल्याएको हो ? त्यस बारेमा जनतालाई बुझाउ जरुरी रहेको बताइन् ।

त्यस्तै उनले अब हुन लागेको निर्वाचनमा आफ्नो तयारी गरेर अगाडि बढ्न समेत आग्रह गरिन् । उनले भनिन्, ‘कसैको भरमा गठबन्धन हुन्छ । हामीले जित्छौँ, भनेर ढुक भएर नबस्नुहोस ।’ त्यस्तै कार्यक्रममा निर्वाचन क्षेत्र नं. ३ का इञ्चार्ज भिमबहादुर वली, ३ ‘ख’ का सचिव गोविन्द भण्डारी, पार्टीका गाउँपालिका अध्यक्ष नेबबहादुर रोका, शान्निनगर ५ का वडाध्यक्ष गिरीराज बस्नेत लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस