अहिलेको शिक्षाको अवस्था गडबड र अलमलमा : गिरी

दाङ । एन प्याव्सन दाङले नेपालगन्जमा सम्पन्न राष्ट्रिय अधिवेशनमा केन्द्रिय उपाध्यक्षमा निर्वाचितलगायत प्रदेश नेतृत्व र केन्द्रिय सदस्यमा निर्वाचितहरुलाई मंगलबार बधाइ एवं सम्मान गरेको छ । सम्मानित हुनेहरुले आफुहरुलाइ दिइएको नेतृत्वको भारीलाइ नथाकी गन्तव्यसम्म पु¥याउने अठोट समेत गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य शंकर गिरीले अहिलेको शिक्षाको अवस्था गडवड र अलमलमा परेको बताए । यस्तै अवस्थाले संविधान लेख्न दुइदुई पटक संविधान सभाको निर्वाचन गर्नुप¥यो । नयाँ संविधान त पायौं, तर शिक्षा ऐन भने २०२१ कै चलाइरहेका छौं उनले भने ।
‘हामी ठप्प छौं, कुनैपनि काम समयमा नहुंदा मुलुक अघि बढेको आभास हुन सकेको छैन, राजनितिकर्मीहरुलेनै उचित दिसानिर्देश दिन नसक्दा शिक्षा क्षेत्र ध्वस्त भएको छ’, बर्धा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य गिरीले भने । अहिले सरकार कुहिरोको काग जस्तै भएकाले कुनैपनि सकारात्मक गतिविधिहरु अघि बढ्न नसकेको पनि उनको अभिव्यक्ति थियो । उनले अगाडि भने, ‘हाम्रो स्कुललाई विज्ञानको शिक्षक चाहिएको छ, तर सरकारी प्रतिनिधि शिक्षा अधिकारीले चाकरीका भरमा सामाजिक विषयको शिक्षक पठाइदिन्छन्, यस्तै सत्ताको भर्तिकेन्द्र बनेका छन् सामुदायिक विद्यालयहरु ।

सरकारले निजिलाई स्याकेर सामुदायिक विद्यालयको शैक्षिक सुधारको अपेक्षा गरेपनि राजनितिक शक्तिको दाउपेचका कारण सामुदायिक विद्यालयहरु राजनीतिका अखडा बन्न थालेका छन्, शिक्षकहरु पठनपाठनमा भन्दा पनि राजनीतिक दलको अचुक कार्यकर्ता बनिदिन रुचाउने अभ्यास छ । कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढि थलापारेको क्षेत्र भनेकै निजी विद्यालय भएको राज्यलाई थाहा भएपनि सामुदायिक विद्यालयलाई केहिहदसम्म उकास्न राज्यले कुनै पहल गर्न नसकेको पनि उनको अभिव्यक्ति थियो । संघियता आएपनि उच्च राजनीतिक नेतृत्वमा केन्द्रिकृत मानसिकतामा परीवर्तन आउन नसक्दा सवै क्षेत्रले संघीयताको साथ पाउन नसकेको पनि उनको भनाइ थियो ।
उक्त कार्यक्रममा बोल्दै एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीले ‘शिक्षा क्षेत्रको उन्नयनमा आफुहरु राज्यसँग साझेदार बन्न चाहेको र कम्तिमा प्रदेश शिक्षा ऐन निर्माण गर्दा आफुहरुलाई पनि सहभागी बनाइ आग्रह गरे । त्यस्तै केन्द्रिय उपाध्यक्ष डाँगीले संघीय शिक्षा ऐन बन्न नसक्दा प्रदेश र स्थानीय सरकारले पनि कार्यविधि बनाएर जवर्जस्त रुपमा शिक्षा क्षेत्रलाई धकेलीरहेकाले नयाँ पन आउन नसकेको पनि बताएका थिए । कोभिडको महामारीका कारण कम्तिमा पनि दश प्रतिशत निजी विद्यालयहरु बन्द भैसकेको भन्दै शिक्षा क्षेत्रलाई माथि उकास्न निजी विद्यालयहरुको योगदानलाई पनि सम्मान गर्न उनले सरकारलाइ आग्रह गरेका थिए । सरकारले संघीय शिक्षा ऐन निर्माण गर्न नसक्दा मुलुकको शैक्षिक गन्तव्य पनि अन्योलमा रहेको उनको टिप्पणि थियो । यसका लागि उनले तीनै तहका सरकारलाई निजी क्षेत्रको सहभागितामा ऐन निर्माणका लागि आग्रह पनि गरेका थिए ।

कार्यक्रममा एनप्याव्सन लुम्विनी प्रदेश अध्यक्ष कुवेर बस्नेतले सरकारले किसानलाई सफ्ट लोन दिएर सम्मान गरि रहेको अवस्थामा संक्रमणले सवैभन्दा बढि प्रभावित निजी विद्यालयलाई कुनैपनि पक्षबाट सम्वोधन गर्न नसकेको अभिव्यक्ति दिएका थिए । त्यस्तै केन्द्रिय सदस्य भिमबहादुर बुढाथोकीले सरकारले शिक्षा क्षेत्रलाइ हेर्ने दुइवटा आँखा बनाइरहंदा निजी स्कुलहरु संकटमा परेको बताए । ‘सरकारले निजि विद्यालयलाइ हेर्ने एउटा आँखां छ, र सामुदायिक विद्यालयलाई हेर्ने अर्काे आँखा छ, यो विभेद रहेसम्म शिक्षा क्षेत्रले उत्साहित भएर अघि बढ्न सक्ने छैन’, केन्द्रिय सदस्य बुढाथोकीले भने ।
केन्द्रिय सदस्य प्रकाशकुमार शर्माले सरकारले महिनावारी हुँदा विद्यार्थीलाई निशुल्क दिने सेनेटरी प्याडमा समेत विभेद गरेको बताए । ‘सरकारले विद्यालय उमेरका छात्रालाई निशुल्क सेनेटरी प्याडका लागि अरबौं रुपैयाँ बजेट खर्च गर्याे, तर निजीका छात्रालाई यो राज्यको सुविधा उपलव्ध छैन, कति विभेदकारी छ सरकार’, केन्द्रिय सदस्य शर्माले भने । यति गम्भीर कुरामा पनि निजी र सामुदायिक भनेर विभेद गर्ने सरकारी प्रबृत्तिलाई सच्चाउन पनि उनको आग्रह थियो ।

कार्यक्रममा पव्लिक ज्ञानज्योतीका सन्चालक एवं हिसान दाङका अध्यक्ष सुरेन्द्र जिसीले आफुहरु बालबालिकाहरुको शैक्षिक भविष्य र भावि गन्तव्यका विषयमा निकै सम्वेदनशिल रहेको भन्दै आफुले पाएको नेतृत्वको जिम्मेवारीलाई गहनतापुर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । पत्रकार शरद रेग्मीले स्थानीय तहको निर्वाचन नजिकिंदैगर्दा कुनैपनि विद्यालय र विद्यार्थीहरुलाई निर्वाचनमा उपयोग र प्रयोग नगर्न सवै नेतृत्वलाई आग्रह गरेका थिए । हरेक निर्वाचनमा विद्यार्थी एवं शैक्षिक संस्थाको प्रयोग अधिक्तम भैरहेकाले अवका निर्वाचनमा विद्यालयलाई उपयोग नगर्न पनि रेग्मीको आग्रह थियो ।
एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सर्मिला डिसी, एनप्याव्सनका प्रदेश सचिव टोमेन्द्र खनाल, प्रदेश सदस्य नरेश आचार्य, एनप्याव्सन बाँकेका अध्यक्ष श्याम कुवरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एनप्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुर डिसीले गरेका थिए । धन्यवाद ज्ञापन एनप्यावसन दाङका उपाध्यक्ष भुमण्डप केसीले गरेका थिए ।
