रोल्पा लाल किल्ला हो : प्रचण्ड

दाङ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले रोल्पा लाल किल्ला भएको बताए । सोमबार रोल्पाको लिवाङमा आयोजित वृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोल्पा लालकिल्ला भएको र यो सधैँभरि लाल किल्ला हुने पनि बताए । उनले रोल्पाली जनताको त्याग, तपस्या, बलिदान र निष्ठाबाट नै देशमा संघीय लोकतन्त्र गणतन्त्र आएको भन्दै देशमा अहिले सबैले प्रतिनिधित्व पाएको समेत बताए । ‘संघीय लोकतन्त्र, गणतन्त्र महान शहीदहरूको बलिदान, सयौँ बेपत्ता योद्धाहरूको त्याग र हजारौँ घाईते, अपांग र लाखौँ जनताको सहयोगको बलमा संघीय लोकतन्त्र गणतन्त्र आएको हो,‘ उनले भने ।

उनले रोल्पाली जनतालाई शान्ति कायम गर्ने कुरामा मात्र नभइ विकास निर्माणको कुरामा पनि पहिलेको जस्तै एकता, दृृष्ढता र पहल कदमी लिन समेत आग्रह गरे । उनले रोल्पा प्रतिक्रियावादी जाली फटाहाको निम्ति आतंक भएको र जनताको निम्ति एउटा भरोसा केन्द्र भएको पनि बताए । उनले रोल्पा रुकुम अहिले नेपालमा मात्र नभई संसारभरि चिनिएको पनि उल्लेख गरे । उनले रोल्पा सिंगै दरोसँग उभिएको छ, भन्ने देखे भने देशभरीका प्रतिक्रियावादीको मुटुमा ढ्याङ्ग्रो ठोक्ने र उनीहरु डराउने पनि बताए । उनले रोल्पाली जनता क्रान्तिको लागि मात्र सिपालु नभइ शान्ति र विकास निर्माणको लागि पनि अग्रणी हौँ ? भनेर सावित गरेको भन्दै अबका दिनमा केन्द्रबाट ठूला ठूला परियोजनाहरू रोल्पामा ल्याउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरूले गर्दा नै अहिले सिंहदरबारको अधिकार जनताको घरदैलोमा आएको पनि बताए । उनले शान्ति सम्झौता पछि संविधान बनाउने बेलामा आफूहरूले नै सिंह दरबारको अधिकार गाउँ घरमा लैजानु पर्छ, भनेर लडेपछि संविधान पनि त्यस्तै बनेको दाबी गरे । ‘ जब अन्योलमा अप्ठेरोमा आउथ्यो । पार्टी हेट क्वाटरको तर्फबाट म रोल्पा, रुकुम आउँथे ,‘ उनले भने,‘ तपाईँहरूले दिएर खाएर , तपाईँहरू दिएको सुरक्षामा बसेर निकै ठुलो शक्ति पाउँथे । देशमा १० वर्षसम्म जसरी युद्ध अगाडि बढ्यो । केन्द्रिय आधार इलाकाका पार्टी र जनताको भूमिका ऐतिहासिक थियो । त्यो ऐतिहासिक रहिरहन्छ ।’ उनले रोल्पा लगायत देशभरीका क्रान्तिकारी जनता र कार्यकर्ताले लडेर ल्याएको संविधान उल्टाउने र फेरि देशलाई निरङ्कुशतातर्फ लैजाने षड्यन्त्र भएको समेत बताए ।

उनले संविधान, गणतन्त्र , लोकतन्त्र र देशको रक्षाको लागि गठबन्ध बनाएको पनि बताए । जसलाई हामीले नायक बनाउन खोजको थियौँ । ति व्यक्ति विदेशी दलाल भएपछि अहिले फेरि संघर्ष गर्नु पर्ने स्थिति आएको समेत बताए । उनले भने,‘ नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय भएको भन्दै जे सपना देखेर नेकपा पार्टी बनाइको थियौँ । एउटै कम्युनिष्ट पार्टी बनाएर समाजवाद तर्फ जान पाइने र ४०–५० वर्षसम्म कम्युनिष्ट शासन रहला भनेर एकता गरेका थियौँ । जसलाई धोइ पखाली राम्रो बनाउन सकिएकाले भन्ने लागेको थियो । जसलाई नायक बनाउन लागेका थियौँ । तिनी मान्छे खलनायक निस्के । ’ उनले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले संविधान र संघीय लोकतान्त्रीक गणतन्त्र उल्टाउने षड्यन्त्र नरोकिएको पनि बताए । उनले माओवादी जनयुद्ध जगमा र समायोजनमा भएको जनआन्दोलनको बलबाट स्थापित भएको संविधान उल्टाउने काम भइरहेको बताए ।

त्यस्तै उनले अहिले भइरहेको षड्यन्त्रलाई रोक्न समेत सबै एक भएर लाग्न आग्रह गरे । उनले भने,‘ हिजोको त्यो आफ्नो विरासतलाई कमजोर हुन नदिनुहोला । तपाईँहरू कै बलमा हामीले काठमाडौँको सिंहदरबारमा लडाइ लड्ने हो । हिजो हामी हतियार लिएर लड्थ्यौँ । अहिले हामी हतियार लिएर लडेका छैनौँ । तर, शान्ति पूर्ण लडाइ सकिएको छैन । अहिले पनि लडाइ जारी छ ।’उनले अहिले पनि प्रतिक्रिया बादीहरू आफूहरूले संविधान सभाबाट बनाएका संविधानका राम्रा कुरा उल्टाउन लागि रहेको आरोप लगाए । उनले हिजो जनयुद्धमा घेरा हालेर सखाप पार्ने राज्यको रणनिति भएको भन्दै घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको रणनिति सिद्धान्त थियो । अहिले हतियार विनाको लडाइ जारी रहेको भन्दै प्रतिक्रियावादीहरू माओवादीलाई घेरा हालेर सिध्याउन लागेको भन्दै आफूहरू घेरा तोडेर विजयी हुन खोजी रहेको बताए ।

उनले आफूहरूलाई हराउन अनेक किसिमका षड्यन्त्रहरू भइरहेको भन्दै अहिले सम्म सफल नभएको पनि दाबी गरे । त्यस्तै उनले अव हुने स्थानीय तहको निर्वाचनमा लडेर रोल्पा जिल्ला कब्जा गर्न समेत आग्रह गरे । उनले चुनाव अरुको लागि चुवान भएयता पनि आफूहरूको लागि लडाइ भएको दाबी गरे । उनले यो निर्वाचनमा माओवादी पार्टीले जित्दा संविधानले जित्ने र हाम्रो लडाइ जनयुद्धले जित्ने समेत बताए । ‘हामीले चुवान हारियो, भने जनयुद्धले हारेको हुन्छ,‘ उनले भने,‘ हाम्रा शहीदहरूको त्याग र बलिदान खेरा गएको हो की ? भन्ने भ्रम पैदा हुन्छ । त्यसैले हाम्रो लागि यो ब्याटल हो । यो ब्याटल हामीले जित्नै पर्छ । यो जित्नको लागि युवाहरूले गाउँ गाउँमा स्वयंसेवक टिम बनाउनु पर्छ । हामी जाइ लाग्दैनौँ, हामी माथि कोई आइलागे भने इटको जवाफ पत्थरले दिने तयारी रोल्पाले गर्नै पर्छ ।’

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस