उत्पादनमूलक क्षेत्रमा लगानी : सभामुख घर्ती

दाङ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । मुलुकका अधिकांश सहकारीहरुले दैनिक बचत संकलन गर्ने र तोकिएको धितो लिएर ऋण मात्रै लगानी गर्ने गर्दा सहकारी उत्पादनसँग जोडिन नसकेको उनको अभिव्यक्ति थियो ।

‘देशको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहन्छ’, सभामुख घर्तीले भने– यसका लागि बचतलाई उत्पादनमूलक कार्यमा लगानी गर्न आवश्यक छ । सहकारीको विकासका लागि ३ वटै तहका सरकार अगाडि बढेको उनको अभिव्यक्ति थियो । ‘सहकारीको माध्यमबाट सामूहिक खेतीलाई अगाडि बढाउन आवश्यक छ’, सभामुख घर्तीले भने । टुक्रे खेतीपातीले निर्वाहमुखी मात्र हुने उनको भनाइ रहेको थियो । उत्पादन गर्ने कृषकलाई सहुलीयत ऋणको व्यवस्था गरिदिनुपर्ने उनले बताए ।

घोराही उपमहानगरपालिका सहकारी रोजगार प्रवद्र्धन शाखाका प्रमुख होमलाल भुसालले सहकारी क्षेत्र पछाडि परेको बताए । ‘आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने सहकारी क्षेत्र पिछडिएको छ’, भुसालले भने ।  जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सहकारी आफ्नो लक्ष्यअनुसार अगाडि बढ्न सक्नुपर्ने बताए । यसले सहकारीको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले सहकारीको माध्यमबाट उत्पादन गरेर बढ्दै गएको आयातलाई घटाउँदै जानुपर्ने बताए । ‘हामीले उत्पादन गरेर निर्यात बढाउन आवश्यक छ’, कार्कीले भने । आयात बढ्दा देशमा व्यापार घाटा बढेको उनको भनाइ रहेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख डिल्लीराज दाहाल, गोरक्ष बहुउद्देश्य सहकारी संस्थाका लेखा समिति संयोजक सम्झना घर्ती, पत्रकार विमला घर्तीलगायतले भनाइ राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष प्रेमकुमारी पुनको अध्यक्षतामा भएको थियो । संस्थाका उपाध्यक्ष रामलाल रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विनाकुमारी पुनले गरेकी थिइन् । सहकारी संस्थाको कार्य क्षेत्र ३ जिल्ला रहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस