मतदाताको अन्तिम नामावली आज सार्वजनिक हुने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली आज सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार सोही अनुसार मतपत्र छपाई हुनेछ ।

आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

‘यसअघि अनौपचारिक छलफल भइरहेको थियो । शुक्रबार मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने निर्णय भएको छ । आवश्यक मेशिन, स्रोत साधान दुरुस्त राख्न निर्देशन दिने भन्ने भएको छ,’ उनले भने ।

उनकाअनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस