विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षाको आवश्यकताः उपकुलपति लामिछाने

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । दाङको घोराहीस्थित राजविद्या पाठशालाको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति लामिछानेले अबको शिक्षा व्यवहारिक र स्वरोजगारमुखी हुन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका उपकुलपति लामिछानेले बालबालिकालाई संस्कारसहितको शिक्षा जरूरी रहेको बताए । यी सानासाना बालबालिकाको प्रस्तुति, यिनका क्रियाकलापले शिक्षण सिकाइमा पृथकताको महसुस गरेको छु । शैक्षिक गुणस्तरमा उपलब्धीको आशा गरेको छु । झ उनले थपे, बालबालिकाको क्रियाकलापले मलाई लोभ्याएको छ, यो लोभले शैक्षिक उन्नयनमा आशा जगाएको छ । विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनको अपेक्षा गरेको छु ।

कार्यक्रमका विशिष्ट अतिथि तथा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत नारायण पौडेलले बालबालिकाका लागि अभिभावकले समय दिन नसकेको बताउँदै अभिभावकले बालबालिकालाई प्रशस्त समय दिन जरूरी रहेको बताएका थिए । उनले बालबालिकालाई स्वभाव, व्यबहार, संस्कार सिकाउन जरूरी रहेको कुरामा बताउँदै बालबालिकालाई व्यवहारिक सिकाइमा जोड दिन सुझाएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावत तथा घोराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्द, दाङ उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष राजभक्त राना, त्रिभुवननगर जेसिजका अध्यक्ष विवेक आचार्य, दाङ महिला जेसिजका अध्यक्ष शारदा शर्मा घर्ती, अभिभावक प्रदिप पौडेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रिन्सिपल टीकाजङ्ग बिकले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विद्यार्थीहरू ऋतु सेन्चुरी र शिशिर कुमाखीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरूले चालु शैक्षिक सत्रमा प्राप्त गरेका उपलब्धि तथा विभिन्न प्रतियोगितामा विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट कार्यवापत शिक्षक शिक्षिका तथा कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएको थियो । वर्ष उत्कृष्ट शिक्षकमा ममता पुन र वर्षदिनभरि नियमित विद्यालयमा उपस्थित हुने शिक्षकका रूपमा रीता गुरूङलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, योगा, गीत, तेक्वान्दो, नाटकलगायतका प्रस्तुति राखेका थिए । कार्यक्रम विद्यालका प्रिन्सिपल टीकाजंग बिकेको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यार्थीद्वय अर्नव चोबे र साकुरा बुढाले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस