माओवादी केन्द्रले खटायो लुम्बिनीका सबै जिल्लामा केन्द्रीय नेता, यस्ता छन् चुनावी कार्यक्रम

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले बैठकले वैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनको तयारीका लागि बिशेष प्रशिक्षण अभियान सञ्चालन गर्न सबै जिल्लामा एक एक जना बरिष्ठ केन्द्रीय सदस्य तोकेको छ । साथै उसले ‘जसको नीति उसको नेतृत्वः स्थानीय चुनावमा माओवादी वर्चश्व’ भन्ने नारा पनि अघि सारेको छ ।

जसअनुसार दाङमा रेखा शर्मा, बर्दियामा ओनसरी घर्ती, बाँकेमा पूर्णा सुवेदी, रोल्पामा दिपेन्द्र पुन, प्युठामा जोगबहादुर महरा, रुकुमपूर्वमा कमला रोका, अर्घाखाँचीमा डिलाराम आचार्य, कपिलवस्तुमा जयपुरी घर्ती, नवलपरासीमा बामदेव क्षेत्री, पाल्पामा जगप्रसाद शर्मा र गुल्मीमा गणेशमान पुनलाई प्रशिक्षकको रुपमा खटाएको छ ।

सबै जिल्लाका स्थानीय तहसम्म चैत ५ गतेदेखि चैत १५ गतेसम्म बिशेष प्रशिक्षण गरिने सो पार्टीले जनाएको छ । प्रशिक्षणका क्रममा चुनावी अवस्थाको आंकलन गरी ती नेताहरुले प्रदेश र केन्द्रीय कार्यालयमा रिपोर्ट पनि पेश गर्ने छन् । जसका आधारमा थप चुनावी रणनीति तय गरिने केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिए ।

त्यस्तै चैत १५ गतेदेखि घरदैलो र जनभेटघाट शुरु गरिने सो पार्टीले जनाएको छ । चैत १५ देखि वैशाख २५ सम्म टोल भेला र टोल सभा, वडा भेला र वडा सभा तथा पालिका भेला र पालिका सभा गरेर वैशाख २५ देखि बुथकेन्द्रित विशेष अभियान सञ्चालन गरिने केन्द्रीय सदस्य शर्माले जानकारी दिए ।

बैठकलाई पार्टी नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस