टरिगाउँ विमान स्थलको स्तरवृद्धि नहुनुमा मुख्य दोषी राजनीतिक दल हुन : नागरिक

दाङ । दाङको टरिगाउँ विमान स्थलको स्तरवृद्धि गर्नका लागि निजी क्षेत्रले चासो व्यक्त गरेको छ । आइतबार तुलसीपुर उद्योग वाणिज्य संघले सर्वपक्षीय सर्वदलीय बैठकको आयोजना गरी टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्न चासो व्यक्त गरेको हो । त्यस्तै स्थानीय, प्रदेश, संघीय सरकार र राजनीतिक दलको लापरवाहीका कारण टरिगाउँ एयरपोर्टमा नियमित उडान र सहज शुल्कमा यात्रुले यात्रा गर्न नसकेको आरोप छ । नागरिक अगुवाहरूले एयरपोर्ट विस्तार हुन नसक्नुको मुख्य दोषी राजनीतिक दलको ठूलो हात भएको आरोप लगाएका छन् । टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्न राज्य र राजनीतिक दलले कुनै पनि काम गर्न नसकेको नागरिक अगुवाहरूको भनाई छ ।

त्यस्तै उनीहरूले निजी क्षेत्रले एयरपोर्टको स्तरवृद्धि गर्छ भने हामीहरूले हातमा हात मिलाएर जान तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै टरिगाउँ एयरपोर्टको स्तरवृद्धि पनि हुन सकेन तर त्यस क्षेत्रमा रहेका जग्गाको बिक्री पनि हुन नसकेको एयरपोर्टसँगै जोडिएको तरुण उपभोक्ता तथा सामुदायिक वनका अध्यक्ष शेषमणि भण्डारीले खेद व्यक्त गरेका छन् । त्यस्तै उनले एयरपोर्टको स्तरवृद्धि हुन नसक्नुमा मुख्य बाधक र कारक  तत्व पैसाको चलखेल भएको पनि उनले बताए ।

त्यस्तै दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले टरिगाउँ एयरपोर्ट जिल्लाकै पुरानो विमानस्थल भएकोले यसको स्तरवृद्धि गर्न स्थानीय, प्रदेश र संघीय सरकारले एकताबद्ध ढंगले पहलकदमी चाल्नु पर्ने बताए । साथै उनले जिल्लामा अन्य स्थानमा विमानस्थल बन्नु पर्छ तर पुरानोलाई आवश्यकता अनुसारको विकास गरेर गर्ने र प्राथमिकताका आधारमा अगाडि बढ्नु पर्ने तर्क राखेका छन् ।

दाङमा रहेको विमानस्थलको विकासमा कुनै भूमिका खेल्न नसकेको भन्दै पुनः निजी क्षेत्रले चासो लिनु परेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । उनले एयरपोर्टको स्तरवृद्धिलाई सरोकारवाला पक्षले ध्यान नदिएमा पर्यटन मन्त्रालयमा गएर दाङवासीले धर्ना घेराउ गरेर भएपनि आफ्नो मागलाई सम्बोधन गराउन तर्फ लाग्नु पर्ने र सबै नागरिक, सरोकारवाला, निजी क्षेत्र, राजनीतिक दल लगायतले साथ सहयोग दिनु पर्ने अपेक्षा व्यक्त गरे । त्यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख हिरालाल रेग्मी, सुरक्षा प्रमुखहरू, नागरिक अगुवा, राजनीतिक दल, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस