कापी किताब पाउँदा बिद्यार्थी र अभिभावक खुशी

राजपुर । आइतबार गढवा गाउँपालिका वडा नं.४ पर्सेनी बस्ने फातिमा खातुन आफ्नो बच्चा लिएर कालिका प्राथमिक बिद्यालयमा पुगे । त्यहाँ पुग्दा विद्यालयको फिल्डमा टनाटन कापी किताब र स्टेशनरी सामानहरु देख्दा दंग परेकी खातुनले झोलामा नअटाउने कापी किताब र स्टेशनरी सामान पाए । सोही बिद्यालयमा पढ्ने आफ्नो बच्चालाई यत्तिधेरै सामान पाइएला भनेर कल्पना सम्म नगरेको उनले बताए ।
कापी किताब पाइन्छ भन्ने खबर बिद्यालयबाट थाहा पाएकी सोही गाउँकी जरिना खातुन पनि आफ्नो बच्चा लिएर बिद्यालय पुगिन् । एकै छिनको कार्यक्रमपछि आफ्नो बच्चाको नाम बोलाएर बच्चाले बोक्र्नै नसक्ने थुप्रै कापी, किताब र अन्य सामाग्री पाएपछि खुशी हँुदै झोला बोकेर घर फर्किन् । आइतबार सो बिद्यालयका ४६ जना अभिभावकहरु आफ्ना बालबच्चा लिएर कापी किताब र स्टेशनरी लिन बिद्यालयमा पुगेका थिए । बिद्यालयमा आयोजित कार्यक्रममा बच्चालाई झण्डै एक बर्षलाई पुग्ने सामानहरु पाउँदा सबै अभिभावकहरु खुशी हुँदै घर फर्किए ।
प्रसंग हो, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ देउखुरी क्षेत्रीय समितिले नबौं राष्ट्रिय पुस्तक दिवस तथा बसन्त पञ्चमीको अवसर पारेर आयोजना गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रमको । आइतवार देउखुरीको गढवा ४ स्थित कालिका प्राथमिक बिद्यालयका सबै बिद्यार्थीहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ देउखुरीले बिद्यार्थीहरुले बोक्नै नसक्ने गरि झण्डै २ लाख १ हजार ७ सय १० बराबरका शैक्षिक सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

महासंघ देउखुरी क्षेत्र स्तरीय समितिका अध्यक्ष कमल खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै शिक्षा प्रमुख विश्वकर्माले पुस्तक तथा स्टेशनरी महासंघको कार्यको प्रशंसा गरे । बिपन्न र सिमान्तकृत नागरिकहरुका बालबच्चाहरुले अध्ययन गर्ने गढवाको यस बिद्यालयलाई रोजेर महासंघले शैक्षिक सामाग्री वितरण गरेकोमा उनले धन्यवाद दिए । बिद्यालयको पठन–पाठनको गुणस्तर बृद्धिगर्न शिक्षक, अभिभावक र बिद्यालय ब्यवस्थापन समिति गम्भिर भएर लाग्नुपर्ने उनको सुझाव रहेको थियो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भैरबबहादुर रावलले बिपन्न नागरिकका बालबच्चाले पढ्ने स्कुल छानेर संघले कार्यक्रम बनाएको बताए । एउटा पुस्तक हजारौं साथीको संगत र ज्ञानको भण्डार भएकोले पठन संस्कृतिको बिकास भए मात्र बौद्धिक समाजको निर्माण र राष्ट्रको समृद्धि सम्भव हुने रावलले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष रावलले राष्ट्रिय पुस्तक दिवसका लागि सरकारसंग बहस पैरबी भै रहेको र सरकारले पनि बसन्त पञ्चमीलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन आग्रह गरे ।

कार्यक्रममा देउखुरीका गढवा, लमही, राजपुर गंगदी, भालुबाङ, कालाकाटे, लालमटिया, सिसहनिया, नर्ति, फल्कापुर, बनगाउँ, सुण्डबरी, देउपुर, पचाहा, रामनगर, उठैयालगायत देउखुरीका बिभिन्न क्षेत्रका ४१ जना ब्यवसायीहरुले शैक्षिक सामाग्रीहरु प्रदान गरेको जानकारी गराइएको थियो भने महासंघ देउखुरीले ४६ थान झोला ब्यवस्थापन गरेको थियो ।
सो अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ दाङका पुर्व अध्यक्ष दिपक भुसाल, सहसचिव भानुप्रसाद यादव, जिल्ला उपाध्यक्ष पदम भण्डारी, जिल्ला सदस्य ताराप्रसाद चुँदाली, बिद्यालयका प्रअ छुनीलाल चौधरी, बिब्यस अध्यक्ष अतिउल्ला मनिहार, पत्रकारहरु शिबराज पन्थी र दुखहरण यादवलगायतले पुस्तक ब्यवसायी महासंघको कदमप्रति प्रशंसा ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन महासंघ देउखुरीका क्षेत्रीय सचिव अनिल पौडेलले गरेका थिए ।

