दिमाग खराब नगर्नुस्, गठबन्धन टुट्दैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका नेपालले सत्तारुढ गठबन्धन नभत्किने दाबी गरेका हुन्।
बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो।
‘आब बिहान बालुवाटारमा शेरबहादुरजी र प्रचण्डजीसँग भेट भएको छ। मनगणन्ते कुरा बाहिर आइरहेको निष्कर्षमा हामी पुगेका छौं,’ अनेरास्ववियुले बुधबार आयोजना गरेको कार्यक्रममा नेपाालले भने,‘दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खबार हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्। यो गठबन्धन टुट्नेवाला छैन।’
कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन उनले दाबी गरेका छन्। नेपालले पत्रपत्रिकामा आइरहेका समाचारबारे पनि प्रधानमन्त्री देउवासँग आफूहरूको छलफल भएको सुनाए।
‘पत्रपत्रिकामा आएका समाचारबारे पनि सत्यतथ्य के हो भन्नेबारे छलफल चलायौं। तर, मनगणन्ते कुरा धेरै आएका रहेछन्,’ उनले भने,‘मिडियामा आएका कुरा सत्य होइनन्।’
गठबन्धनलाई बलियो बनाएर लैजान आफूहरू प्रतिवद्ध रहेको उनले बताए। नेपालले निर्वाचनपछिसम्म गठबन्धन कायम रहने उल्लेख गरेका छन्।