हाम्रो पहुँच माविलाई इन्टरनेशनल स्कुल अवार्ड

दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड २०२१ प्राप्त गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको विद्यालयले अवार्डका लागि तोकिएका विभिन्न सात वटा सूचक पूरा गरी इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो ।
शिक्षण सिकाईका आधारमा उत्कृष्ट विद्यालयलाई ब्रिटीस काउन्सीलले इन्टरनेशनल स्कुल अवार्ड प्रदान गर्ने गरेको छ । सन् २०२१ मा सहभागी दाङका ८ वटा विद्यालयमध्ये हाम्रो पहुँच माविले अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका आइएसए कोर्डिनेटर तिलक कालाथोकीले जानकारी दिए ।

काउन्सिलको मापदण्ड अनुसार विभिन्न ७ ओटा परियोजनाहरुमा आधारित रहेर हाम्रो पहुँच माविले विभिन्न शिक्षण क्रियाकलापहरु गरेको उनले बताए । विद्यालयले शिक्षण सिकाई प्रभावकारीका लागि तीनवटा विदेशी विद्यालय र एउटा सरकारी विद्यालय संगको सहकार्य गरेको छ । यस्तै स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम र विद्यालयभित्र गरिने परियोजना प्रभावकारी भएकाले अवार्ड प्राप्त गरिएको कोर्डिनेटर कालाथोकीले बताए ।
जनप्रतिनिधि, शिक्षासँग सम्बन्धित सरोकारवाला सबैको सहयोगले विद्यालयले इन्टरनेशनल अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताए ।