राष्ट्रियसभा निर्वाचनकाे मौन अवधि सुरु

काठमाडौं ।  यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२०७८ साल माघ १२ गते बुधबारका दिन सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मिति २०७८ माघ ९ गते राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुन्छ।’

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न नपाउने उल्लेख गरेको छ।

उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरू पालना गर्न गराउनका लागि आयोगले सबैसँग अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएकाे छ, ‘निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ।’

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस