प्राविधिक विषय निःशुल्क पढ्छन् छोरीहरु

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ कीपुजा गुरुङ्गले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन् । सानै उमेरमा बुबा गुमाएकी पुजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो । आर्थिक कारणले सोचेको कुरा पढ्न पाइदैन कीभन्ने चिन्ता बढ्दै गइरहेको थियो । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई निशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि मेरो प्राविधिक शिक्षा पढ्ने सपना पूरा भएको छ । कुशल खाद्य विज्ञ वन्ने सपना देखेकी पुजाले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन् ।

तुलसीपुर ४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ वन्ने सपना थियो । उनको सपना पनि अहिले साकार भएको छ । “निशुल्क रुपमा आफुले चाहेको विषय पढ्न पाउँदा असाध्यै खुसी छुँ” उनले खुसी व्यक्त गरिन् । वाल मितेरी मावि भोजपुरबाट एसईई दिएकी अरुणा चौधरीको मेकानिकल इन्जिनियरिङ्ग पढ्ने सपना पनि यतिवेला सार्थक भएको छ । “बाबाआमाले पढ्न सकिदैन भन्नु भएको थियो तर पूर्ण छात्रवृत्ति पाएपछि अहिले पढ्न सम्भव भएको छ” चौधरीले भनिन् । तुलसीपुर ३ कीआइसा ढकालको इलेक्ट्रिकल इन्जिनियरिङ्ग पढ्ने सपनापनि सार्थक भएको छ । “३ वर्ष पढेर आत्मनिर्भर वन्न सकिन्छ भन्नेमा ढुक्क छुँ” ढकालले खुसी व्यक्त गरिन् । यी केही प्रतिनिधि खुसी मात्रै हुन् । दर्जनौ छोरीहरुले यति वेला प्राविधिक विषयको अध्ययन गरि रहेका छन् ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथमा स्थानीय सरकारले शिक्षालयको स्थापना गरेको हो । शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका पालिका भित्रका सबै छात्राहरुलाई निःशुल्क अध्यापन गराउने गरिएको शिक्षालयका प्रमुख वसन्त आचार्यले जानकारी दिए । आचार्यका अनुसार निःशुल्क पढ्ने सबै छात्राहरुको शुल्क भने पालिकाले तिर्ने गरेको छ ।

उपमहानगरपालिकाले छात्र वृत्ति दिएर अहिले १ सय छात्राहरुले शिक्षालयमा विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको पनि आचार्यले वताए । “सामुदायिकमा पढ्ने जुनकुनै छात्राले अध्ययन गर्न चाहे पनि हामीले पूर्ण छात्र वृत्ति दिने गरेका छौँ” उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । उनले छात्र वृत्ति दिन थालेपछि प्राविधिक शिक्षा पढ्ने छात्राहरुको संख्या उल्लेख्य रुपमा बढेर गएको पनि बताए । “हामीले छात्र वृत्ति दिनुभन्दा पहिले यहाँ प्राविधिक शिक्षा अध्ययन गर्ने छात्राको संख्या निकै न्यून थियो” प्रमुख भण्डारीले भने । उनले सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्राहरुलाई निशुल्क प्राविधिक विषय अध्यापन गराउन थालेदेखि सामुदायिक विद्यालयमा छात्राहरुको संख्या बढेर गएको समेत वताए ।

नगरप्रमुख घनश्याम पाण्डेले छोरीहरुले प्राविधिक शिक्षा अध्ययन गरेमा अरुको मुख ताक्नु नपर्ने बताउँछन् । नगरले छोरीहरुलाई स्मार्ट वनाउनका लागि शिक्षामा जोड दिएको पनि बताए । “छोरीहरुलाई आत्मनिर्भर वनाउनका लागि मुख्य गरेर सीप मुलक शिक्षामा ध्यान दिनु पर्नेछ” नगर प्रमुख पाण्डेले भने । उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारकै पहलमा शिक्षालयको स्थापना गरेको बताए । आजको जमानामा प्राविधिक शिक्षाले बेरोजगारीको समस्या अन्तगर्न सक्ने भन्दै नगरप्रमुख पाण्डेले विभिन्न संघसंस्थासँग सहकार्य गरेर छोटो अवधिको तालिम समेत सञ्चालनमा पालिकाले ध्यान दिएको वताए ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस