तुलसीपुर खानेपानी : राजनीतिक दलको सहमति लत्याउँदै, उम्मेदवारी दिदै

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसंस्थाको नयाँ नेतृत्वका लागि यहाँ क्रियाशिल ९ वटा राजनीतिक दलले सहमति गरे । र, सोही अनुसार आईतबार उम्मेदवारी दिए । अध्यक्ष कांग्रेसको भागमा पारिएको थियो । सोही अनुसार पार्टीले यमकान्त भण्डारीलाई उम्मेदवार बनायो ।

तर, राजनीतिक सहमति विपरित पार्टीकै नेताहरुले उम्मेदावरी दिएका छन् । अध्यक्षमा विप्वल नेकपाकै खेमराज वलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी यसअघि ४ कार्यकाल खानेपानीको अध्यक्ष भइसकेका ब्यक्ती हुन् । हाल पनि उनी तुलसीपुर खानेपानीकै अध्यक्ष छन् । ९ दलिय गठबन्धनको उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले गठबन्धन भन्दा बाहिर नजाने बताएका थिए ।

त्यस्तै अध्यक्षमै कांग्रेस (विपी)का दीपककुमार धितालले उम्मेदवारी दिएका छन् । उनी यसअघिको खानेपानीको निर्वाचनमा कांग्रेसले टिकेट नदिएपछि विद्रोह गरेर अध्यक्षमै बागी हालेका थिए । खानेपानीमा टिकेट नपाएपछि उनले कांग्रेस समेत परित्याग गरि कांग्रेस वीपीमा आबद्ध भएका थिए ।

त्यस्तै अध्यक्षमै माओवादी केन्द्रका नेता निर्मल आचार्यले पनि उम्मेदवारी दिएका छन् । हालका सचिबसमेत रहेका मनोज लामिछानेले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी एमालेकै नेता हुन् । त्यस्तै कांग्रेसका नेता तथा यातायात व्यबसायी पवनराज बुढाथोकीले पनि अध्यक्षमै उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपाध्यक्ष माओवादी केन्द्रको भागमा पारिएको थियो । सोही अनुसार माओवादीले हालका कोषाध्यक्षसमेत रहेका सीताराम शर्मालाई उम्मेदवार बनायो । तर, उपाध्यक्षमा पनि शर्मासहित ५ जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसका गिरीधारीप्रसाद पौडेलले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । जो की खानेपानीका हालका पनि उपाध्यक्ष हुन् । उपाध्यक्षमै कांग्रेसका पू्र्णप्रसाद धिताल, एमालेका नारायणप्रसाद भण्डारी, विप्वलका निर्मला डीसीले उम्मेदवारी दिएका छन् ।

सचिब एमालेको भागमा परेको छ । एमालले सेवकराम भण्डारीलाई सचिबको उम्मेदवार बनाएको छ । तर, यसमा पनि काँग्रेसका गोपाल शर्मा, माओवादी केन्द्रका निर्मला भुषाल, काँग्रेसकै रञ्जनकुमार गौतम, विप्लवका मेघराज घिमिरे र एमालेका दामोदर लामिछानेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै कोषाध्यक्ष विप्लव नेतृत्वको नेकपालाई भाग परेको छ । जसमा विप्लवले भद्रबहादुर वलीलाई उम्मेदवार बनाएको छ । यसमा पनि वलीसहित चारजनाको उम्मेदवारी परेको छ । काँग्रेसका मेघराज न्यौपाने, माओवादी केन्द्रका कर्णबहादुर वली र काँग्रेसकै भोलाप्रसाद थापाको उम्मेदवारी परेको छ ।

सदस्यहरुमा एकीकृत समाजवादीले पदमबहादुर खड्का, राष्ट्रिय जनमोर्चाले छमा भण्डारी, राप्रपाले लक्षमण भण्डारी, जनता समाजवादीले गीता विष्टलाई उम्मेदवारी बनाएको छ । एमालेलाई सचिवसहित अर्काे सदस्य पनि भाग परेको छ । सोही अनुसार एमालेले सदस्यमा आशा अधिकारीलाई उम्मेदवार बनाएको छ । तर, सदस्यहरुमा पनि अन्य १९ जनाको उम्मेदवारी परेको छ । जम्मा ९ जनाको कार्यसमितिका लागि ४० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस