२०८० असोज ७ गते आइतवार

‘मुलुक विकासका लागि प्राविधिक शिक्षा आवश्यक’

घोराही । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले मुलुक विकासका लागि प्राविधिक शिक्षा आवश्यक भएको बताए । लुम्बिनी प्रदेशकै नमुना शिक्षालय शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीले नव आगन्तुक विद्यार्थीहरुका लागि आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै जिएमले सरकारले प्राविधिक शिक्षालाई सर्वसुलभ बनाउनु पर्ने धारणा व्यक्त गरे । ‘हामीले गाउँगाउँमा जीवन उपयोगी हुने शिक्षा दिनुपर्छ,’ उनले भन्ने, ‘नेपाली माटो सुहाउँदो प्राविधिक शिक्षाले मात्रै हाम्रा विद्यार्थीहरुको आफ्नो भविष्य सुन्दर बनाउन सक्छन् ।’

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले पछिल्लो समय दाङ प्राविधिक शिक्षाको हब हुन थालेको बताए । जिल्लामा प्राविधिक शिक्षालयहरु धमाधम स्थापना हुँदा यस क्षेत्रका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको उनको भनाई थियो । ‘हाम्रा सन्तानहरुले सस्तोमा प्राविधिक शिक्षा पाउनु निकै राम्रो कुरा हो,’ उनले भन्ने, ‘आगामी दिनमा सरकारले प्राविधिक शिक्षालाई पूर्ण रुपमा निशुल्क बनउनुपर्छ ।’

कार्यक्रमका सभाअध्यक्ष एवम् शिक्षालयका उपप्रमुख केशरमान बुढाथोकीले शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय यो प्रदेशमा सबैभन्दा बढि प्राविधिक विषयहरु अध्यापन गर्ने शिक्षालयको रुपमा स्थापित भएको बताए । उनले विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासबाट सीपमुलक शिक्षा प्रदान गरिएको जानकारी दिए । ‘हामीले आगामी दिनमा थप छोटो तथा लामो समयका सीपमुलक तालिम प्रदान गर्ने योजना बनाएका छौं,’ बुढाथोकीले भने, ‘यो शिक्षालयको विकासका लागि सहयोग गर्नु यस क्षेत्रका आम दाजुभाई तथा दिदीबहिनिहरुको पूर्ण दायित्व हो ।’

शिक्षालयका प्रशिक्षक चन्द्रप्रकाश कँडेलले शिक्षालयको विकासका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु हिरा थापा र विरेन्द्र डाँगीले गरेका थिए । कार्यक्रममा शिक्षालयका विद्यार्थी तथा प्रशिक्षकहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस