प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा विश्वकर्मा

दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा मानसिंह विश्वकर्मालाई चयन गरिएको छ । बिहीबार प्रदेशको राजधानी भालुबाङमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समावेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिवमा भुपेन्द्र वली, खुला सचिवमा टीकाराम पोख्रेल, दिवाकर पोखरेल, गणेश पाण्डे, महिला सचिवमा भावना सुवेदी, जनजाति सचिवमा गजेन्द्र गुरुङ, दलित सचिवमा चिन्ता बहादुर दर्जी, मधेशी सचिवमा अलाम खान, कोषाध्यक्षमा मनिष कार्कीलाई चयन गरिएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा शीतल थापा, अनुशासन समिति सदस्यमा माया केसीलाई चयन गरिएको सङ्गठनका केन्द्रीय सदस्य नरेन्द्र केसीले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको कार्यक्रममा सङ्गठनका संस्थापक तथा लुम्बिनी प्रदेशबाट सञ्चार क्षेत्रमा भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको हो ।

प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा नरेन्द्रजङ्ग पिटर, बिनोद पहाडी, लुम्बिनी प्रदेशका संस्थापक गोविन्द आचार्य, मौसम रोका, अजयदीप शर्मा र चेतलाल कँवर सहित एक दर्जन भन्दा बढि पत्रकारहरूलाई सम्मान गरिएको थियो । सम्मेलनमा सहभागि हुन लुम्बिनी प्रदेशका १२ जिल्लाबाट २ सय प्रतिनिधि र पर्यवेक्षक सहभागिता रहेको थियो ।