‘यसपटक चलचित्रमार्फत विशेष सन्देश दिँदैछौं’

को–को हुनेछन् कलाकार ?

काठमाडौं । निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र निर्माणको अन्तिम तयारीमा जुटेका छन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसहितका कलाकार रहने उनको चलचित्रमा केही नयाँ अनुहार पनि देखिने छन् । नयाँ अनुहार पनि कसलाई लिने भन्ने उनले तय गरिसकेका छन्।

अडिसन लिएर नै उनले नयाँ कलाकार लिएका छन् । फिल्म कलेज पढेका र थिएटरबाट आएका कलाकार नभए पनि अभिनयमा पोख्त रहेका व्यक्तिलाई अनुबन्ध गरेको उनले बताए ।

“हामी वास्तवमा खोजेजस्तो कलाकार नै छैनौं भनेर भनिरहेका छौं । तर, त्यस्तो होइन रहेछ । आफूलाई हरेक तवरबाट पोख्त बनाएर बसेका धेरै व्यक्ति हुनुहुँदोरहेछ,” प्रदीप भन्छन्, “अभिनयमा पनि आफूलाई अब्बल बनाएर बसेका, सेलिब्रटीमा हुनु पर्ने गुण पनि भएका धेरै व्यक्ति मैले यसपटक पाएँ ।”

फिल्म कलेज नपढे पनि कतिले सेल्फ प्राक्टिस गरेर त कतिले थिएटरका दिग्गज व्यक्तिहरुसँग अभिनयको क्लास लिएर आफूलाई चलचित्रका लागि तयार बनाएर बसेको आफूले पाएको प्रदीप बताउँछन् । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको जोखिमको बीचमा केही समय सहज भएका बेला उनले कलाकार चयन गरेका हुन् ।

यो पटकको उनको चलचित्र सोसल ड्रामा हुने छ । तर, यसपटक दर्शकलाई हसाउँदै सन्देश दिने खालको चलचित्र निर्माण गर्ने उनले जानकारी दिए । “यो पटक चलचित्रमा हासो मात्रै होइन समाजलाई सन्देश दिनै पर्ने केही सन्देश पनि दिँदैछौं,” उनी भन्छन्, “हाँसो त हाम्रो चलचित्रमा हुन्छ नै त्यससँगै समाजले खासै वास्ता नगरेको तर भन्नै पर्ने कुरा भन्दैछौं ।”

कोरोना संक्रमणको त्रास कम हुनबित्तिकै चलचित्र छायांकनमा जाने उनी बताउँछन् । बाह्रखरीबाट

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस