अनलाइन टिभी पत्रकार संघको अध्यक्षमा राजेश खत्री

दाङ । दाङमा पहिलो पटक अनलाइन टिभी पत्रकार संघ गठन भएको छ । केन्द्रमा संघ गठन भएको दूई बर्ष पछि दाङमा पनि संघको शाखा गठन गरिएको छ । शनिबार घोराहीमा भएको संघको भेलाले अध्यक्षमा तुलसीपुरका राजेश खत्रीलाई चयन गरेको छ ।

खत्रीको आफ्नै मेरो दाङ टिभी यूटुब च्यानल छ । उनी फरककोणमा पनि कार्यरत छन् । अध्यक्ष खत्रीसंग काठमाडौंमा रेडियोहरुमा पनि प्राबिधिक भएर काम गरेको अनुभव छ ।
गठित १३ सदस्य तदर्थ समितिको उपाध्यक्षमा प्रदीप भण्डारी, सचिवमा एचआर मगर, सहसचिवमा मेघमान बुढा, कोषाध्यक्षमा जय प्रकाश पौडेललाई चयन गरेको छ ।

त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा सुरेश पन्थी,अंकित खनाल, डमरुप्रसाद निरौला, घनश्याम घिमिरे, मदन मुस्कान विक, श्रीनारायन चौधरी, भिमबहादुर वली र वशन्त राना रहेका छन् । संघको भेलाले सल्लाहाकार समितिपनि चयन गरेको छ । जस्मा पत्रकार तथा मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति पत्रकार सुशील वस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष नरेन्द्र केसी रहेका छन् ।
असार २२ गतेको भेलालाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले उदघाटन गरेका थिए ।

उक्त दिन नेतृत्व चयनमा एक भन्दा बढी दाबीहरु रहेपछि सहमति जुटाउन अनलाइन टिभी पत्रकार संघ नेपालका सस्थापक केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि अमृतमान वलीलाई जिम्मा दिइएको थियो । केन्द्रमा करिब दूई वर्ष अगाडि अनलाइन टिभी पत्रकार संघ गठन भएको थियो ।
शनिबारको भेला वलीको अध्यक्षतामा भएको हो ।

उक्त भेलाले तुलसीपुरका झक्कु भण्डारीलाई सम्मान गरेको थियो । भण्डारी जिल्लामा अनलाइन टिभीको सुरुवात गर्ने ब्यक्ति अन्तरगत पर्दछन् । पछिल्लो समय समाजमा अनलाइन टिभी प्रतिको सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस