सल्यानमा अझै खानेपानीबाट वञ्चित


सल्यान । बन्गाडकुपिण्डे नगरपालिकास्थित मैदुमा सञ्चालन गरेको खानेपानी योजना लामो समयदेखि अलपत्र छ । योजना अलपत्र परेपछि गाउँमा झण्डै १ सय ५० परिवार दुई घन्टा टाढा हिडेर खानेपानी ल्याउन बाध्य छन् । कालीमाटी गाउँपालिका १ चोत्रेका करिब ५० परिवारले पनि डेढ दशकदेखि खानेपानी समस्या भोगिरहेका छन् ।

सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४६ हजार ३ सयमध्ये ३६ हजार ६ सय परिवारले मात्र खानेपानी सुविधा पाइरहेका छन् । गाउँमा खानेपानी नहुँदा घण्टौ पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताले सास्ती भएको मुलखोलाकी दिलमाया खत्रीले बताइन् । उनका अनुसार गाउँमा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ उनले भनिन्, ‘वर्षौदेखि आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ ।’ उनले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौ,’ उनले भनिन्, ‘अरु समय सधैं पानीको पिरलो हुन्छ ।’ उनका अनुसार खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पानीको समस्याले पशुपालन गर्न पनि समस्या भएको उनको गुनासो छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख पदमराज देवकोटाले खानेपानी अभावका कारण स्थानीयले खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार खानेपानी समस्या समाधानको लागि यो वर्ष २२ लिप्ट र २२ ‘ग्रयाभिटी’ खानेपानी योजना निर्माणाधीन छन् । उक्त योजनाबाट झन्डै ५ हजार घरधुरीमा खानेपानी सुविधा पुग्ने उनले जानकारी दिए । ४४ योजनाका लागि यो वर्ष ६५ करोड रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस