बस्नेत परिवारलाई प्रेस काउन्सिलको सहयोग

दाङ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरस कारण निधन भएका पत्रकारहरूलाई आर्थिक सहयोग गरेको छ । पत्रकारिता गरिरहेका र कोरोनाका कारण निधन भएका दाङका दुई पत्रकारका परिवारलाई आर्थिक सहयोग गरेको हो । काउन्सिलका सदस्य शरद अधिकारी सहभागी भएर दुई पत्रकारका परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

दाङका दामोदर अधिकारी र लक्ष्मण बस्नेतका परिवारलाई भेट गरेर आर्थिक सहयोग गरिएको हो । काउन्सिलले प्रति परिवार २५ हजारका दरले आर्थिक सहयोग गरेको छ । काउन्सिल पनि दुखको समयमा साथमै रहेको सन्देश दिनका लागि सहयोग गरेको सदस्य अधिकारीले जानकारी दिए । यसैक्रममा बिहीबार हापुरेमा स्वर्गीय पत्रकार लक्ष्मण बस्नेतकी श्रीमती खिमा बोहरालाई भेट गरी आर्थिक सहयोग गरिएको छ ।

काउन्सिलका सदस्य अधिकारीसँगै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, सल्लाहकार सुदीप गौतम, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगीत बस्याल र प्रेस चौतारी दाङका सचिव प्रेमबहादुर राम्जाको सहभागितामा सहयोग रकम हस्तान्तरण गरिएको हो । काउन्सिलबाट प्राप्त भएको २५ हजार बराबरको चेक सदस्य अधिकारीले लक्ष्मण बस्नेतकी जीवन संगिनी खिमा बोहरालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर केसीले दुखको समयमा सहयोगको कार्यक्रमले राहत भएको बताए ।

त्यस्तै अधिकारीको परिवारलाई मंगलबार २५ हजार हस्तान्तरण गरिएको थियो । अधिकारीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा केही महिनाअघि काठमाडौमा र बस्नेतको भैरहवामा मृत्यु भएको थियो । त्यस्तै पत्रकार देविराम कुसारीले पनि कोरोना सङ्क्रमणबाट निधन भएका अधिकारीकी श्रीमती विमला ज्ञवालीलाई ५ हजार ५५५ सहयोग गरेका छन् । कुसारीले बुधबार उक्त रकम सहयोग गरेका हुन् ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस