ड्याममा डुबेर बेपत्ता युवकको २२ घण्टापछि शव फेला
दाङ । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा डुबेर बेपत्ता भएका एक युवकको २२ घण्टापछि शव फेला परेको छ।
घोराही उपमहानगरपालिका–१२ बेलघारका २३ वर्षीय अनुप चौधरीको शव शुक्रबार बिहान ११ः३० बजे सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले फेला पारेको हो।
चौधरी बिहीबार दिउँसो छ जना साथीसँग ड्याममा नुहाउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी कार्य सुरु गरे पनि बिहीबार उहाँलाई फेला पार्न सकेको थिएन।
शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण मुख्यालय शमशेरगन्ज बाँकेमा रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीबाट सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको नेतृत्वमा विशेष तालिम प्राप्त गोताखोर टोली परिचालन गरिएको थियो।
टोलीले ड्यामको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा चौधरीको शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण मुख्यालय ज्वालामाई दाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले जानकारी दिएका छन ।
