दाङमा दुर्घटनाबाट सरकारी कर्मचारीको मृत्यु
दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ निवासी चेतबहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार बेलुका करिब साढे ६ बजे लमही नगरपालिका १ सुनडबरीमा नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रु बसले सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ए ए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमलसिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा बरिष्ठ लेखा अधिकृत रहेको बुझिएको छ ।

