माओवादी केन्द्र दाङको इन्चार्जमा आचार्य यथावत, सह-इन्चार्ज दहित, संयोजकमा पुन

दाङ ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । जसमा कतिपय पुरानैको जिम्मेवारी यथावत रहेको छ , भने केही पदमा नयाँले जिम्मेवारी पाएका छन् ।  पार्टी केन्द्रले दोहोरो जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरूले सम्हालेको पद जनप्रतिनिधि अन्य नेताहरूलाई हस्तान्तरण गर्ने नीति लिएपछि जिल्लास्तरमा पनि जिम्मेवारी हेरफेर गरिएको हो ।

जसअनुसार माओवादी केन्द्र दाङको इन्चार्जमा निर्मल आचार्य यथावत रहेका छन्, भने सह इन्चार्जको जिम्मेवारी रामबहादुर दहितले पाएका छन्। दहित हाल पार्टी केन्द्रीय लेखा आयोग सदस्य समेत हुन् ।  दाङ जिल्ला संयोजकको जिम्मेवारी हरिमान पुन ‘बरुण’ ले पाएका छन् । जनयुद्धकालमा तत्कालीन जनमुक्ति सेनाको डिभिजन सह-कमान्डर समेत रहेका  पुन हाल प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन्  ।  प्रदेश बैठकले दाङ जिल्ला समन्वय समितिको सचिवमा विश्वराज आचार्यलाई नै कायम राखेको छ ।

त्यस्तै एकता प्रक्रियाबाट आएका ईश्वरी पाण्डे, खेमराज ओली र डिल्लीराज खड्का ‘आजाद’ लाई प्रदेश समिति सदस्यको जिम्मा दिइएको छ । पाण्डेय र ओली विप्लव नेतृत्वको नेकपा तथा आजाद नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्रमा समाहित भएका थिए ।  प्रदेश बैठकले रमेश ओली ‘राजन’, खुशीराम चौधरी र प्रकाश विष्टलाई प्रदेश सदस्यमा मनोनित गरेको छ । बैठकले डिल्लीबहादुर रावतलाई प्रदेश सल्लाहकारमा मनोनित गरेको छ । समाजसेवी एवं पर्यावरण अभियन्ता रावत केही समयअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस