छिल्लीकोटका स्थानीयलाई मालागेडी टिप्न भ्याइ नभ्याइ

दाङ । हिजोआज तुलसीपुर १९ छिल्लीकोटका स्थानीयहरूलाई सुगन्ध कोकिला अर्थात मालागेडी टिप्न भ्याइ नभ्याइ छ । घरमा रोपेका बिरुवा तथा जङ्गलमा रहेका बिरुवामा अहिले मालागेडी पाकेका छन् । आम्दानीमा राम्रो स्रोत मानिने मालागेडी स्थानीयहरूले टिप्न थालेका हुन् ।

छिल्लीकोटमा अन्य खाद्यान्न बाली खासै हुँदैन, दुर्लभ वनस्पतिका रुपमा रहेको मालागेडी भने प्रशस्तै पाइन्छ । त्यही मालागेडीको बिक्रीबाट यहाँका स्थानी हरूले वार्षिक रुपमा १५ करोड सम्म आम्दानी गर्ने गरेका छन् । मल्लागिरी पर्वतमा मात्रै पाइने यो वनस्पति जिल्लाकै अन्य पालिका पनि विस्तार हुने क्रममा छ , भने नेपालका २६ जिल्ला यसको तिरुवाहरू पठाइएको छ ।

परापूर्व कालदेखि नै तुलसीपुर १९ मा छिल्लीकोटमा मालागेडी ठूला ठूला रूखहरू थिए । स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार सतीदेवीको दाहिने कुम पतन भएको मल्लागिरी पर्वतमा रहेका ति रुखमा फलेको बास्नादार फललाई मालागेडी भन्न थालियो हो । उक्त फलको महत्व र प्रचार प्रसारको अभावमा कुनै समय त्यतिकै बनमा खेर जाने फल अहिले तुलसीपुर १९ छिल्लीकोटका स्थानीयका लागि भने यार्सा जस्तै भएको छ ।

बैशाख जेठमा फूल लागेर भदौ असोजदेखि पाक्न शुरु गर्ने निकै नै बास्नादार यो फल छिल्लीकोटका १ सय बढि घरधुरीको आम्दानीको श्रोत बनेको छ । यहाँका हरेक घरका सदस्यहरू यो फल सङ्कलनका लागि हिजोआज सरकारी तथा तथा सामुदायिक बनमा भेटिन्छन् । यो फलको रूख ठुलो हुने भएका कारण रुखमा चढेर भन्दा पाकेर भुईँमा खसेपछि बाँदर तथा खुला चरिचरणबाट बचेकुचेको फल सबैले संकलन गर्छन ।

यस नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्ती लगायतमा प्रयोग हुने मालागेडिको खरीद गर्न व्यापारीहरू घरमै पुग्ने गर्दछन् । गतवर्ष ५ सय रुपैयाँ प्रतिकेजी बिक्री गरेका किसानहरू यो वर्ष अझै मूल्य बढि पाउने आशामा छन् । स्थानीय गीता वलीका अनुसार आफ्नो ठाउँमा अरु केही नहुने र मालागेडीमा हुने गर्दछ । उनले भनिन्,‘ हामीहरूको आयस्रोत नै यही हो ? धेरै हुने ५/ ६ क्विन्टलसम्म बनाउनु हुन्छ । थौरै हुनेले एक क्विन्टलसम्म बनाउनु हुन्छ । ठूला रूखहरू छन् ।

भदौदेखि मङ्सिरसम्म पाक्ने गर्दछ । रुखमा चरा र बाँदरले खान्छन्, झरेको संकलन गरेर बच्ने हो ?’ उनका अनुसार धेरै हुनेले ५/ ६ लाखसम्म आम्दानी गर्ने र थोरै हुनेको ५० / ६० हजारसम्म हुने गर्दछ । यस्तै सोही ठाउँकी नानामति पुनले पनि यही मालागेडी बेचेर नै आफूहरूले जीवीका चलाउँदै आएको बताइन् । मालागेडी फलेको वर्षमा २ /  ४ क्विन्टलसम्म हुने गरेको भन्दै उनले अन्नबाली लगाउँदा बाँदरले हुन नदिने समेत बताइन् ।

परापूर्व कालदेखि नै घरका काल्ना, वारीका पाटा तथा घरछेउका बनमा आफै उम्रिएका रूखहरू बूढा भएका र सुक्न थालेपछि स्थानीयहरू यसलाई बचाइ राख्न नयाँ बिरुवाको उत्पादन गर्न तथा बिरुवा हुर्काउन तर्फ पनि लागेका छन् । हरेक घरमा २ /  ४ बोट देखी ५० बोटसम्म रूखहरू रहेका छन्, भने नयाँ तिरुवाहरू पनि हुर्काइरहेका छन् । यस्तै स्थानीय परविर पुनका अनुसार कुनै समयमा ४० / ५० रुपैयाँ लम्बरका बिक्री हुने बजार जानु पर्ने बाध्यता थियो, भने अहिले गाउँ मै व्यापारीहरू आएर ५ सय रुपैयाँ प्रतिकिलो र ५० हजार रुपैयाँ क्विन्टलमा लैजाने गरेका छन् ।

पछिल्लो समय यसको माग बढ्दै गएपछि यहाँका किसानहरू आयस्रोत बन्दै गएको समेत उनले बताए । फुल फुलेको समयमा असिना पानीले बचाइदियो भने छिल्लीकोटका किसानले थोरैमा ५० हजार देखी धेरैमा ११ लाख सम्मको आम्दानी एक सिजनमा गर्ने गरेका छन । जिल्लाबाट वार्षिक ३ सय देखी ४ क्विन्टल सुगन्ध कोकिला निकासी हुने गरेको छ , करिब २० करोड रकम आम्दानी हुने गरेको छ ।

मुख्य गरी तुलसीपुर १९ छिल्लीकोटमा पाइने यो फल तुलसीपुरकै वडा नम्बर १८ र बंगलाचुली गाउँपालिकाको १ देखी ५ नम्बर वडाका वनहरूमा यसको विस्तार गर्न थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार मालागेडीले समुदायको जीवीको पार्जनमा महत्वपूर्ण गर्ने भएकाले यसको खेती प्रवर्द्धनको काम गरेको छ । कार्यालयले हरेक वर्ष उन्नत जातको मालागेडीका बिरुवाहरू उत्पादन गरेर किसानहरूलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस