अध्यक्ष कप टी २० क्रिकेटको उपाधि वडा न ११ लाई
दाङ । तुलसीपुर नगरस्तरीय वडा नम्बर ११ अध्यक्ष कप टी२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वडा न ११ ले जितेको छ। तुलसीपुर उपमहानगरपालिका वडा न ११ को आयोजनामा अमर मावि उरहरी खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा वड न ७ लाई ७ विकेटले पराजित गर्दै आयोजक वडा न ११ ले उपाधि जित्न सफल भएको हो ।
उपाधि सँगै उसले नगद २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्यो । फाइनलमा हार ब्यहोरेको वडा नम्बर ७ उपविजेतामा सीमित रहँदै नगद १५ हजार, ट्रफी मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । टस जितेर ब्याटिङ रोजेको वडा ७ ले ७३ रन बनाउँदै अल आउट भएको थियो । ७ नम्बरका लागि कप्तान गोपाल केसीले नटआउट २५ रन बनाएका थिए भने प्रताप स्वर्णकारले १२ रनको योगदान गरेका थिए। वडा नम्बर ७ लाई सस्तैमा रोक्नका लागि वडा नम्बर ११ का मनु शाहले सर्वाधिक ३ तथा सुधन बुढाथोकीले २ र कप्तान दिनेश रावतले १ विकेट लिन सफल भए । ७४ रनको बिजयी लक्ष्य सहित खेल मैदानमा उत्रिएको वडा न ११ ले १८ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । जसका लागि मनु शाहले सर्वाधिक २५ रनको योगदान दिए भने कप्तान दिनेश रावतले नटआउट २३ रनको योगदान दिए । वडा नम्बर ७ को लागी सन्दीप नेपालीले २ विकेट लिन सफल भए ।
कार्तिक १६ गते देखि सञ्चालित प्रतियोगितामा तुलसीपुर नगरका ११ टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मनु शाह म्याच अफ द फाइनल घोषित भएका थिए भने ११ कै दीजन मल्ल इमर्जिंग प्लेयर तथा वडा नम्बर ७ का गोपाल केसी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूलाई जनहि २ हजार ५ सय नगद तथा ट्रफी सहित पुरस्कृत गरिएको थियो ।
यसैबीच प्रतियोगिताको समापन तथा पुरस्कार बितरण समारोह वडा अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यमा भएको थियो । वडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राम बहादुर जिसि, खेलप्रेमी तथा उपमहानगरका इन्जिनियर तथा रोटरी क्लब अफ तुलसीपुर सिटका अध्यक्ष पवन कुमार योगी, दाङ जिल्ला क्रिकेट संघका सदस्य रूपेश शर्मा, दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत, नेपाली कांग्रेसका बालकृष्ण लामिछाने, नेकपा एमाले तुलसीपुर नगर कोषाध्यक्ष टोपेन्द्र बस्नेत सोमी चौधरी, युवा तथा खेलप्रेमी पूर्ण केसी लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव पदम कुमार भण्डारीले गरेका थिए ।

