बबई कप टि २० क्रिकेट प्रतियोगिताको सुरु
दाङ । दाङको हँसपुरमा शनिबार देखि बबई कप टि २० क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ । दाङ जिल्ला क्रिकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रिकेट क्लबको आयोजनामा बबई गाउँपालिका ३ हँसपुरमा सञ्चालित प्रतियोगिताको बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रीले खेल विकासको पहिलो आधार पूर्वाधार भएको बताए । पूर्वाधार विकास बिना खेल विकासको परिकल्पना असम्भव भएकाले हामी गाउँपालिकामा खेल संरचना निर्माणसँगै भएका संरचनाको संरक्षण र त्यसको उपयोगमा नीतिगत रुपमा लागि परेका बताए ।
ग्रामीण स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्ने लक्ष्य उद्देश्यले गाउँपालिका भित्र क्रिकेट रङ्गशाला निर्माण कार्य लाई गाउँपालिकाको पहिलो प्राथमिकतामा पारिएको उनले बताए । साथै उनले गाउँपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिने र पालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय उच्च प्राथमिकतामा रहेको बताए ।
पुरन्धारा क्रिकेट क्लबका अध्यक्ष तथा खेल संयोजक बालकृष्ण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि बबई गाउँपालिका ३ का वडाध्यक्ष मान बहादुर केसी, खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बबई गाउँपालिका २ का निवर्तमान अध्यक्ष चिन्तामणि शर्माको स्वागत रहेको कार्यक्रमको सञ्चालन टोपेन्द्र थापाले गरेका थिए ।
यसैबीच प्रतियोगिता अन्तरगत पहिलो सम्पन्न खेलमा गुरुकुल एकाडेमी घोराही बिजयी भएको छ । उद्घाटन खेलमा त्रीशिदेश्वरी क्रिकेट क्लब तुलसीपुर लाई १७ रनले पराजित गर्दै गुरुकुल एकेडेमीले बिजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेको गुरुकुलले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ४ रन जोड्न सफल भयो ।
गुरुकुलका विराट भण्डारीले सर्वाधिक २९ रनको योगदान दिँदा राज शाह र वसुर अहमद ले क्रमशः २१ र १२ रनको जोड्न सफल भए ।बलिङ तर्फ त्रिशिद्धेश्वरी क्रिकेट क्लबका करण सार्की ३, दिवान पुन, सुरज केसीले समान २ / २ विकेट, र स्माइल अन्सारी, केशव अधिकारीले समान १ / १ बिकेट लिए । प्रतिउत्तरमा १ सय ५ रनको बिजयी लक्ष्य पाएको त्रिशिद्धेश्वरी १६ दशमलव ४ ओभरमा ८७ रन जोड्दै अल आउट भयो ।
त्रिशिद्धेश्वरीका शंकर बुढाले सर्वाधिक २९ रनको योगदान दिँदा विजय भुसाल र मोहन केसीले क्रमशः २३ र १७ रन जोडे । बलिङ तर्फ वीर बहादुर घर्ती र अविनाश बस्याल ले समान ३/ ३ विकेट लिए । खेलमा ४ ओभर दुई मेडन १८ रन ३ विकेटको उत्कृष्ट प्रदर्शन गरेका वीर बहादुर घर्तिमगर म्यान अफ द म्याच घोषित भए ।
यसैबीच प्रतियोगिता अन्तरगत भोलि आइतबार बिहानको खेलमा घोराही क्रिकेट एकेडेमी र पुरन्धारा च्यालेन्जर्स भिड्नेछन् भने दिउँसो हुने खेलमा राप्ती गाउँ पालिका र गुरुकुल एकेडेमी घोराही भिड्नेछन् । क्रिकेट खेलको विकास र बिस्तारसँगै नवप्रतिभावना खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद पचास हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद पच्चीस हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद आठ हजार साथमा ट्रफी, वेस्ट बलर र वेस्ट ब्याट्सम्यानले समान नगद पाँच / पाँच हजार सहित ट्रफी, प्रमाणपत्र हात पार्नेछन्, भने प्रत्येक खेलको म्यान अफ द म्याच लाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ । कार्तिक २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पुरन्धारा क्रिकेट क्लब बबई, त्रिशिद्धेश्वरीस्पोर्ट्स क्लब तुलसीपुर, घोराही क्रिकेट एकेडेमी, दाङ क्रिकेट लिग खेलेको टिम पुरन्धारा च्यालेन्जर्स, गुरुकुल क्रिकेट एकेडेमी घोराही र राप्ती गाउँपालिका क्रिकेट टिम सहित ६ टिमको सहभागिता रहेको छ ।

