नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट पुष्टि
काठमाडौ । नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी वान डट सिक्टिन पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोनामा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्येश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पीसीआर र एन्टीजेन पोजेटिभको नमूनामा परीक्षण गरिएको थियो । त्यस क्रममा ओमिक्रोनको बिए वान डट वान दुई जनामा, बिए डट टु दुई जनामा, बिए टु डट सेभेन सिक्स एक जनामा, बिए डट पाँच दुई जनामा पुष्टि भएको छ ।
त्यस्तै बिए फाइभ डट टु दुई जनामा, एक्बीबी वान डट वान सिक्स दश जनामा, एक्बीबी वान डट फाइभ तीन जनामा, एक्बीबी टु डट सिक्स एकजनामा र एक्बीएफ एक जनामा पुष्टि भएको छ । भारतमा पनि नयाँ भेरियन्ट फैलिरहेको हुँदा सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका साथै कोरोनाको संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन आग्रह गरेको छ ।
मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ । नेपालमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको छ ।

