लेखा प्रणालीलाई प्रविधिसँग जोड्नुहोस् : नगरप्रमुख खड्का
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले लेखा प्रणालीलाई प्रविधिसंग जोड्न निर्देशन दिएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको दुई दिने विद्यालय अनलाइन लेखा व्यवस्थापन अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खड्काले लेखा प्रणालीलाई चुस्तदुरुस्त राख्दै प्रविधिसंग जोड्न सके आर्थिक पारदर्शिता देखिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले आर्थिक विवरणलाई दैनिकरुपमा अद्यावधिक गर्दै राख्न निर्देशन दिए । उनले विद्यालयको लेखा प्रणालीलाई थप व्यवस्थित तुल्याउनका लागि पालिकाबाट अभिमुखीकरणको कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले सार्वजनिक खरिद ऐनलाई नै टेकेर खरिद र निर्माणका प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
कार्यक्रममा प्रशिक्षक तुलसीपुर उपमहानगरपालिका लेखाप्रमुख खिमलाल वलीले बजेट निकासा र खरिद नियम प्रक्रिया पु¥याएरै काम अघि बढाउनुपर्ने बताए । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन शाखाका अधिकृत मनबहादुर खड्काले गरेका थिए ।


