दाङमा स्थानीय तह निर्वाचनमा उठेका ८ सय बढी उम्मेदवारको जमानतजफत
दाङ । दाङमा स्थानीय तह निर्वाचनमा उठेका ८ सय बढी उम्मेदवारको जमानत जफत भएको छ । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा जिल्लाका दश स्थानीय तहमा ५ सय २० पदका लागि भाग लिएका २ हजार ४ सय बढीले उम्मेदवारी दिएका मध्ये ८ सय ३८ जनाको जमानत जफत भएको हो ।
निर्वाचन कार्यालयको तथ्यांक अनुसार, मुख्य राजनीतिक दल, साना पार्टी, स्वतन्त्र गरेर २ हजार ४ सय १२ जनाले उम्मेदवारी दर्ता गराएकोमा कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएका उम्मेदवारको धरौटी जफत भएको हो ।
जस अनुसार, मेयर पदमा घोराहीमा १२, तुलसीपुरमा ९ र लमही नगरपालिकामा ५ जना गरी २६ जना मेयर पदका उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस्तै, उपप्रमुखमा १८ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत बचाउन नसक्नेमा घोराहीका ६, तुलसीपुरका ७ र लमहीका ५ गरी १८ जना उपप्रमुख पदका उम्मेदवार रहेका छन् ।
अध्यक्ष पदमा पनि २६ जना उम्मेदवारको जमानत जफत भएको छ । उपाध्यक्ष पदमा १८ जनाको जमानत जफत भएको छ । यस्तै, वडाअध्यक्ष पदका लागि उम्मेदवारी दिएकामध्ये २ सय ३६ जनाको जमानत जफत भएको छ । यस्तै, महिला सदस्य पदका लागि उम्मेदवारी दिएका मध्ये १ सय ३१ जनाको पनि जमानत जफत भएको छ । यस्तै, दलित महिला सदस्य मध्ये १ सय जना उम्मेदवारको पनि जमानत जफत भएको छ ।
सबैभन्दा बढी जमानत जफत हुनेमा वडा सदस्य संख्या रहेको छ । जसमा घोराही र तुलसीपुरका ६६(६६ जना, लमही र राप्तीका ३३(३३ जना, दंगीशरण र बबईका १३(१३ जना, गढवाका २२ जना, बंगलाचुलीका २ जना, राजपुरका २४ जना र शान्तिनगरका ११ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मध्ये स्थानीय तह प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटी बापत एक हजार ५०० रुपैयाँ, वडाध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले ५०० रुपैयाँ धरौटी राखेर उम्मेदवारी दर्ता गराएका थिए । यस्तै महिला, दलित, विपन्न तथा अल्पसंख्यक उम्मेदवारले सो रकमको ५० प्रतिशत कम धरौटी राखेका थिए ।

