इन्टर कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

दाङ । तुलसीपुरमा इन्टर कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ ।  राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता साउन १० गते देखि सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ लगायत अन्य जिल्लामा स्थापित कलेजका १५ बढी टिमको सहभागिता रहने र विभागको टिम तथा एनभीए  कप खेलिसकेका खेलाडी टिममा सहभागि हुन नपाउने आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

पाँच दिन सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष खत्रीले बताए ।

अध्यक्ष खत्रीका अनुसार प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्वोत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । 

यसैबीच प्रतियोगिता लाई कसरी भव्य एवं सभ्य बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो तयारी तीब्र पारेको आयोजक यतिबेला सबैको सहयोग र सहकार्यको अपेक्षा सहित  टिम दर्ता,  प्रचार प्रसार, आर्थिक व्यवस्थापन लगायतका पक्षमा लागि परेको छ । प्रतियोगिता सञ्चालनको तालिका अनुसार साउन ९ गते बेलुका ५ बजे सम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने सहभागी टिमका लागि दर्ता शुल्क ७ हजार राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस