मिडिया समन्वयबारे छलफल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मिडिया उत्थान, सूचना प्रवाह तथा उपमहानगर र सञ्चारमाध्यमबीचको समन्वयका विषयमा पत्रकारहरूसँग छलफल गरेको छ।

आज तुलसीपुरमा कार्यबाहक नगर प्रमुख तथा प्रवक्ता माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरूले लोककल्याणकारी विज्ञापन तथा कार्यक्रम वितरणका लागि कार्यविधि बने पनि त्यसको पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र सबै सञ्चारमाध्यमलाई समेट्न नसकिएको गुनासो गरेका थिए। पत्रकारहरूले समाचार सम्प्रेषणसँगै सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिएका थिए।

पत्रकारहरुले घोराही र तुलसीपुर एउटै जिल्लाका स्थानीय तह भए पनि तुलसीपुर अझै मिडियामैत्री बन्न नसकेको बताएका छन् । उनीहरूले उपमहानगर सम्बन्धी सूचना तथा विज्ञापन बाहिर जाने गरेको भन्दै स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीले स्थानीय तह र सञ्चारमाध्यमबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै अघि बढ्ने बताए । कार्यक्रमको सहजीकरण सूचना अधिकारी यज्ञ केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस