दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले खड्कालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।
अदालतले सम्पत्ति शुद्धीकरण कसूरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका खड्काको बयान सुरु भए पनि प्रमाणहरु बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरु बाँकी नै रहेको भन्दै म्याद थप गरेको हो।
‘प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमती माग गरेको र अनुमती माग गरेको बेहोरा मनासिव देखिँदा निज प्रतिबादी दीपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२।१२।१५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमती प्रदान गरिदिएको छ।’ आदेशमा भनिएको छ।
खड्कालाई आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो। गृहमन्त्री सुधन गुरुङका अनुसार गत भदौ २४ गतेको आन्दोलनका क्रममा खड्काको निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। थाहा खबरबाट साभार

