एमालेले बनायो दाङकी सिद्धिकीलाई समानुपातिक सांसद

दाङ । नेकपा एमालेबाट दाङ जिल्लाको एकल प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य साजिदा सिद्धिकीको संसदीय यात्रा तय भएको छ। नेकपा एमालेको सचिवालय बैठकले आज सार्वजनिक गरेको १६ सदस्यीय समानुपातिक सूचीमा सिद्धिकीको नाम समावेश भएपछि उनी संघीय संसद प्रवेश गर्ने निश्चित भएको हो। यससँगै दाङबाट एमालेको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेताका रूपमा सिद्धिकी अगाडि आएकी हुन् । झण्डै दुई दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी सिद्धिकीले सामाजिक सेवा र संगठन निर्माणबाट आफ्नो पहिचान स्थापित गरेकी छिन् । सामाजिक न्याय, महिला सशक्तिकरण तथा समुदायको उत्थानका क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएकी सिद्धिकीले अहिले संसदीय जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकी हुन् । लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै राजनीतिमा प्रवेश गर्नुभएकी सिद्धिकी एमालेभित्र मेहनती, सक्रिय र पार्टीप्रति प्रतिबद्ध नेतृका रूपमा चिनिथिन् ।

सिद्धिकी हाल नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय उपाध्यक्षका रूपमा दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालिरहेकी छिन् । यसका अतिरिक्त विभिन्न सामाजिक, धार्मिक तथा सामुदायिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनीले आम नागरिकसँग घनिष्ठ सम्बन्ध बनाउँदै आएकी थिइन् । फाल्गुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार तथा पार्टी महासचिव शंकर पोख्रेललाई विजयी गराउनका लागि सिद्धिकीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । निर्वाचन अभियानका क्रममा उनीले गाउँ–गाउँ पुगेर कार्यकर्ता परिचालन, मतदाता भेटघाट तथा चुनावी प्रचारप्रसारमा सक्रिय सहभागिता जनाइकी थिइन् । दिनरात खटेर पार्टीको पक्षमा वातावरण निर्माण गर्न भूमिका खेले पनि देशको बदलिँदो राजनीतिक परिस्थिति र चुनावी समीकरणका कारण परिणाम भने एमालेको पक्षमा आउन सकेन।

यद्यपि पार्टीप्रति देखाएको निष्ठा, समर्पण र सक्रियताको मूल्याङ्कन गर्दै एमाले नेतृत्वले सिद्धिकीलाई समानुपातिकतर्फबाट संघीय संसदमा पठाउने निर्णय गरेको हो। पार्टीको निर्णयसँगै सिद्धिकीको औपचारिक संसदीय यात्रा सुरु हुने भएको छ। संसद प्रवेशसँगै सिद्धिकीले दाङ जिल्लाको विकास, सामाजिक न्याय तथा पछाडि परेका समुदायको आवाज संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् । विशेषगरी महिला, मुस्लिम समुदाय, दलित तथा विपन्न वर्गको हकअधिकार सुनिश्चित गर्न आफूले सक्रिय भूमिका खेल्ने उनीको भनाइ छ। साथै दाङको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारीका अवसर सिर्जनाका विषयलाई पनि प्राथमिकताका साथ उठाउने योजना रहेको उनीले बताइन् ।।स्थानीय स्तरमा सामाजिक कार्यबाट पहिचान बनाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल भएकी सिद्धिकीको संसदीय यात्राले दाङ जिल्लाका महिलाहरू र अल्पसंख्यक समुदायलाई थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। एमालेबाट दाङको प्रतिनिधित्व गर्दै संघीय संसदमा पुग्ने उनको यात्रालाई जिल्लाका नेता–कार्यकर्ता तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन्।यसरी सामाजिक सेवाबाट सुरु भएको साजिदा सिद्धिकीको राजनीतिक यात्रा अब संघीय संसदसम्म पुगेको छ, जहाँबाट उनले दाङका जनताको विकास, अधिकार र समृद्धिका लागि आवाज उठाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस