टी-२० विश्वकप छनोट : कुवेतलाई ५८ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात
काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा ईएपी छनोटमा कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुआत गरेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेतलाई १८.१ ओभर ८३ रनमा अल आउट गर्दै नेपालले जित दर्ता गरेको हो ।
कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन जोडे । नेपाललाई सोमपाल कामीले चौथो बलमै ओपनर रविजा सान्दारुवानलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि उस्मान पटेल नन्दन यादवको बलमा स्वीप खेल्ने धुनमा शून्यमा बोल्ड आउट भए । मित भावसारलाई ललितले ११ रनमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशी र रोहित पौडेलले पनि २-२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, करण केसी र नन्दन यादवले १–१ विकेट लिए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाए । नेपालका ओपनर आसिफ शेख २, कप्तान रोहित पौडेल १५ बलमा ३ चौकासहित १६, दीपेन्द्रसिंह ऐरी २०, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।
नेपालले १९ औं ओभरमा कुल २७ रन जोडेको थियो । गुल्शन झाले ३ छक्का र कुशल भुर्तेलले दुई चौका नविनराजलाई हानेका थिए । कुवेतका नविनराज राजेन्द्रानले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, अनुपदीप र मोहम्मद फारुकले १(१ विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।

