टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । नेपालले अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल बंगलादेश ए सँग ३२ रनले हार बेहोरेसँगै लगातार दोस्रो खेलमा पराजित भएको हो ।

बंगलादेश ए ले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अविजित ५९ रन बनाए भने आसिफ सेखले २८, लोकेश बमले १५, नन्दन यादवले १४, कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १० रन बनाएका थिए । त्यस्तै बंगलादेश ए का बलर राकिबुल हसनले ३ विकेट लिए भने हसन हममुदले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेश ए ले २० ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनाएको थियो । बंगलादेश ए का लागि जिशान आलमले सर्बाधिक ७१ रन बनाए भने अफिफ होसैनले अविजित ४८, नैम शेखले २५ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर रिजन ढकालले २ विकेट लिए भने करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

नेपालले यस अघि खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए को भने दोस्रो खेलमा यो पहिलो जित हो । बंगलादेश ए ले आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो । सिरिजमा अब नेपालले तेस्रो खेल १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस