सिंगापुरलाई हराउँदै नेपाल यू-१६ इस्ट जोन कपको विजेता

काठमाडाैं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे। नेपालको जितमा जोय थापा नटआउट २४ रन बनाएर अविजित रहे।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो। सिंगापुरका रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५ रन जोडे। नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन खर्चिएर ३ विकेट लिए। सुशिल बहादुर रावलले पनि ३ विकेट हात पारे। शुभम खनालले २ विकेट तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए।
नेपालले समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रूपमा फाइनलसम्मको यात्रा तय गरेको थियो। समूह चरणमै नेपालसँग पराजित भएको सिंगापुर फाइनलमा पनि उस्तै नतिजा भोग्न बाध्य भयो।