स्कटल्याण्डले नेपाललाई दियो ९८ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले गरेको बलिङ प्रदर्शनलाई सुखद अन्त्य गराएका थिए ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक रन जोड्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए । अन्तिम ओभरमा दीपेन्द्रबाट बोल्ड हुनुअघि लिस्कले ४६ बलमा ४४ रनको योगदान दिए । टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट सुरुवात गर्दै सुरुवाती ५ ओभरमै ५ विकेट लिएको थियो । पहिलो ओभरको अन्तिम बलमा दीपेन्द्रले बायाँ हाते ओपनर मार्क वाटलाई बोल्ड गरेका थिए । लगत्तै अर्को ओभरको तेस्रो बलमा जर्ज मुन्से करणको बलमा दीपेन्द्रबाट क्याच आउट भए । यो करण केसीको १ सयौं टि२०आई विकेट पनि थियो । लगत्तै अर्को बलमा लियाम नेलर लोकेश बमको थ्रोमा रनआउट भएपछि स्कटल्याण्ड १०/३ को अवस्थामा पुग्यो ।

चौथो ओबर्को चौथो बलमा करणले फिन्ले मक्रिथलाई पनि क्याच आउट गराए । पाँचौ ओभरमा ललित राजवंशीले ब्रेन्डन मक्मलेनको विकेट लिएपछि घरेलु टोली २४(५ को दयनीय अवस्थामा पुग्यो । पाँचौ विकेटका लागि माइकल लिस्क र कप्तान म्याट क्रसले संयमित ब्याटिङ गर्दै ३९ रनको साझेदारी गरे । तर १३ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले कप्तान क्रसलाई १५ रनमा बोल्ड गरे । लगत्तै क्रिस मक्ब्राइडलाई पहिलो बलमै बोल्ड गर्दै सन्दीपले लगातार विकेट लिए । उनले उक्त ओभरमा मेडन समेत राखे ।

स्कटल्याण्डको आठौं विकेट पनि सन्दीपकै नाममा रह्यो । उनले १७ औं ओभरमा सफियान सरिफलाई गुगली फ्याँक्दै एलबीडब्लु धरापमा परे । सरिफले १४ बलमा ६ रन बनाएका थिए । त्यसको २ बलपछि नै उनले ज्याक जार्भिसलाई बोल्दै गर्दै स्कटल्याण्डलाई ८१/९ को स्थितिमा पुर्याए । समग्रमा नेपालका लागि करण र दीपेन्द्रले २/२ तथा ललितले १ विकेट लिए ।

आज नेपाल सिरिजको पहिलो जितको खोजीमा छ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्याण्ड २ अंकसाथ शीर्ष स्थानमा छ । नेपालले भने खाता खोल्न बाँकी छ ।

प्रकाशित मिति : २०८२ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस