राप्ती प्रादेशिकमा फितलो व्यवस्थापन, बिरामीलाई सास्ती

दाङ । तुलसीपुर उपमहानगरपालिका ८ दोघरेका नारायण केसी केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्नको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चैत १९ गते बिहान १० बजे आइपुगे । उनी अस्पताल आउँदा ओपिडीको टिकट काट्न ठाउँमा भिडभाड निकै थियो । दुई ठाउँमा बिलिङ र दुई ठाउँमा ओपीडी टिकट काट्ने व्यवस्था भएयता पनि दुई ठाउँबाट मात्र टिकट काटेको हुँदा बिरामीहरूको भिड निकै रहेको थियो । उनी बिहान १० बजेदेखि १२ बजेसम्म लाइनमा बस्दा पनि पालो नआएर यताउता हिँडिरहेका थिए । अस्पतालमा ओपीडी टिकट सवा १२ बजेसम्म मात्र काट्ने व्यवस्था रहेको छ । तर, केसी जस्तै धेरै बिरामीहरू लाइनमा आफ्नो पाला कुरेर उभिएका थिए ।

यसरी घन्टौँ एउटा ओपीडीको टिकट काट्न लाइनमा बस्दा निकै सास्ती भएको भन्दै केसीले अस्पताल व्यवस्थापनको कमजोरी रहेको बताए । उनले भने,‘ चार ठाउँमा काउन्टरको व्यवस्था गरिएको छ । एक जना सुत्केरी बिदामा र एक जना बिरामी बिदामा बसेपछि अहिले दुई वटा ठाउँबाट टिकट काट्ने व्यवस्था हुँदा म जस्ता बिरामीले धेरै समस्या भोग्नु परेको छ । यहाँ त आफ्ना नजिकका मान्छेको सेटिङमा टिकट काटिन्छ, हामी जस्ता सोझा लाइनमा बसेको बसैँ गर्नु पर्ने बाध्यता छ ।’ यस्तै उनले निम्न आर्थिक भएका ब्यक्तिहरू नै सरकारी अस्पतालमा उपचार गर्न आउने भन्दै अस्पताल प्रशासनको कमजोरीका कारण बिरामीहरूले सास्ती भोग्नु परेको गुनासो गरे ।

यो अस्पताल पश्चिम दाङ लगायत पहाडी जिल्लाको केन्द्र भएको भन्दै उनले यसलाई राम्रोसँग सञ्चालन गर्नु पर्ने बताए । उनले यदि अस्पतालले राम्रोसँग सेवा दिन सक्दैन, भने हामीलाई जानकारी दिए हुन्छ, हामी बिरामीहरूले यस्तो पीडा कहिलेसम्म भोग्नु पर्ने हो । यस्तै तुलसीपुर ११ उरहरीबाट आएका ज्येष्ठ नागरिक केशव डाँगीले पनि अस्पतालमा राम्रो व्यवस्थापन नहुँदा आफू जस्ता बिरामीहरूले सास्ती भोग्नु परेको गुनासो गरे । उनले पनि बिहान ९ बजे नै अस्पतालमा आएको भन्दै घन्टौँ लाइनमा बस्नु परेको बताए । उनले भने,‘ यो अवस्थाको अवस्था देख्दा निकै पीडादायी रहेको छ । कुनै पनि राम्रो व्यवस्थापन हुँदैन । एउटा टिकट काट्न घन्टौँ लाइन, त्यसपछि डाक्टरलाई चेक गराउन उत्तिकै लाइन, लाइन नै लाइन बस्दा डाक्टर नै भेटिदैनन्, फेरि अर्को दिन आउनु पर्ने बाध्यता छ ।’

‘यो सरकारी अस्पताल हो रु यहाँ उपचार लिन नआएका कहाँ जानु, यहाँ आए कहिँले पनि सहज रुपमा सेवा पाइदैन, उनले गुनासो पोख्दै भने,‘ म तुलसीपुर नगरको ज्येष्ठ नागरिक समिति सदस्य पनि हुँ हामीले अस्पताललाई राम्रो बनाउन पटक पटक आग्रह गर्दै आएका छौँ । तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन्, यहाँ बिरामीले सहज रुपमा सेवा पाउनु भन्दा पीडा मात्र पाउने ठाउँ भएको छ ।’ यस्तै तुलसीपुर १० गौरीगाउँका थम्मन बहादुर केसी बुवाको अप्रेसन गरेको टाँका काट्न बिहान १० बजे नै अस्पताल आइपुगेका थिए । उनी पनि ओपीडी सेवामा डाक्टरको पर्खाइमा बसेका थिए । बिहान सवा १२ बजेसम्म डाक्टर ओपिडीमा नआएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने,‘ अस्पताल मानिसहरू रहरले आउँदैनन्, बिहान १० बजे बुवाको टाँका काट्न आए । तर, अहिलेसम्म डाक्टरहरू आफ्नो कक्षमा आएका छैनन्, बाहिर डाक्टरको नाममा भित्र लेखिएको छ, तर कोठाहरू खाली छन् ।’

नाम दिएर मात्र सेवा दिन सकिँदैन : अस्पताल
प्रदेश सरकारको मातहतमा रहेको यो अस्पतालको नाम प्रादेशिक भएपनि रोल्पा, रुकुम, प्यूठानमा रहेका अस्पतालहरू जुन बेडमा सञ्चालन भएका छन्, त्यही अनुसार सञ्चालन भइरहेको हुँदा सेवा दिन समस्या रहेको अस्पतालको निमित्त प्रमुख डाक्टर शिशिर पोखरेलले बताए । उनका अनुसार अहिलेसम्म अस्पताल ५० बेडको स्वीकृत अनुसार नै सञ्चालन भइरहेको छ । तर, दैनिक ५ र ७ जना बिरामीहरूलाई सेवा दिइरहेको उनले बताए । उनले भने,‘ जनशक्ति त्यही हो ? पूर्वाधार र बजेट पनि त्यही हो ? अनि अस्पतालले भने जस्तो सेवा कसरी दिन सक्छ । ’

यस्तै अहिले अस्पताललाई आन्तरिक स्रोतबाट १४५ बेडमा सञ्चालन गर्दै आइरहेको समेत उनले बताए । यो अस्पताललाई २ सय बेडसम्म सञ्चालन गर्ने भनेर करिब डेढ वर्षदेखि सर्व भएर प्रदेश स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा फाइल गएको भएयता पनि अहिलेसम्म कुनै काम नभएको उल्लेख गरे । अहिले यो अस्पतालमा सहज रुपमा सेवा दिन आफूहरूलाई मुख्य समस्या जनशक्ति र बजेट रहेको समेत उनको भनाइ छ । यो अस्पताललाई सरकारी ७४ जना मात्र दरबन्दी भएको भन्दै अन्य जिल्लाको अस्पतालको जस्तो अवस्था रहेको उनले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेश अस्पताल बाहेक यो प्रदेशमा रहेका अन्य अस्पतालहरू समान रहेका छन् । यो अस्पतालको नाम मात्र प्रादेशिक रहेको हो । यस्तै उनले अस्पतालमा जनशक्ति अभाव हुँदा पनि अस्पतालले ४ वटा काउन्टरहरू सञ्चालन गर्दै आइरहेको बताए । अहिले एक जना सुत्केरी बिदामा र एक जना बिरामी भएको हुँदा दुई वटा काउन्टरबाट सेवा दिँदा भिडभाड धेरै भएको समेत बताए । यस्तै उनले कर्मचारीहरू बिदामा बस्दा सेवा समस्या हुने भन्दै रेडियोलोजिस्टमा एक जना मात्र डाक्टर हुनुहुन्छ, उहाँ बिदामा बस्दा त्यो सेवा प्रभावित हुने भन्दै आफूहरूले आफ्नो तर्फबाट सक्दो रुपमा सेवा दिइरहेको बताए ।

यो अस्पतालमा पश्चिम दाङ, सल्यान, रोल्पा, रुकुम लगायतका जिल्लाहरुबाट बिरामीहरू सेवा लिन आउने गरेको अस्पतालको भनाइ छ । अहिले दैनिक ५ सय बढि बिरामीहरू आउने गरेको र अस्पतालमा २१६ जना जनशक्ति रहेको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले बताए ।

उनका अनुसार १७ जना विशेषज्ञ, २५ जना मेडिकल अफिसर, ७१ जना नर्सिङ, ७४ जना स्वीकृत दरबन्दी, ६४ जना पदपूर्ति, १४३ जना करार, २६ जना दैनिक ज्यालादारी, ४४ जना स्थायी र ३ जना काजका कर्मचारीहरू रहेका छन् । गत चैत १ गतेदेखि १७ गतेसम्म ५ हजार ९३४ जना बिरामीले सेवा लिएको भन्दै उनले गत साउन १ गतेदेखि यही चैत १९ गतेसम्म ८५ हजार ५९३ जनाले सेवा लिएको समेत बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस