प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता शुरु

दाङ । घोराही उपमहानगरपालिकाले फूटबल खेलमा महिला खेलाडीहरूलाई आकर्षित गर्नका लागि यस वर्ष देखि महिला फुटबल प्रतियोगिता शुरु गरेको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिले प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता २०८१ को सुरुवात गरेको हो ।

खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्‌घाटन गरिएको हो ।

प्रतियोगिता १९ गते सम्म चल्ने छ भने ८ वटा महिला खेलाडीहरूको समूह प्रतिस्पर्धामा रहेका छन् । नवलपुर स्थित खेल मैदानमा शनिबारबाट प्रतियोगिता सुरुभएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले खेल क्षेत्रमा पनि महिलाहरूको सहभागिता बढाउन चाहेको बताए ।

त्यसका लागि विद्यालय स्तरबाटै खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले यस बर्षबाट उपमहानगरपालिकाले महिला फुटबल प्रतियोगिताको सुरुवात गरेको बताए । स्वस्थताका लागि खेलकुद क्षेत्र महत्वपूर्ण पाटो भएको उनको भनाई छ । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राममणि पाण्डे, वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोख्रेल, वडा नम्बर १७ का अध्यक्ष रामलौटन चौधरी, नगर खेलकुद विकास समितिका सदस्य केशव थापाले खेल क्षेत्रको विकास र समावेशिताका लागि विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस