तीर्थयात्री चढेको गाडी भारतमा दुर्घटना हुँदा चार जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरबाट तीर्थ यात्रा गरी भारत गएका एक समूहको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ। बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना भएको हो।

तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीका अनुसार दुर्घटनामा गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको जानकारी दिएका छन्।

यस दुर्घटनामा तुलसीपुर–७ श्रीगैं निवासी ८० वर्षीय मोतिराम वलीको आमा समेत मरेकी छन्। अन्य दुई जनाको पनि मृत्यु भएको तर उनीहरूको नाम अहिलेसम्म खुल्न नसकेको अध्यक्ष जिसीले बताएका छन्। गाडीमा कुल नौ जना सवार थिए। दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस