मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

दाङ ।  दुई दिने मौसमी र बेमौसमी तरकारी खेती तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । ‘अर्गानिक खेती  गरौँ, मानव जीवन स्वास्थ्य बनाऔँ’ भन्ने मूल उद्देश्यका साथ पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र दाङको आयोजना तुलसीपुर १७ मजगाउँमा दिइएको  थियो । संस्थाका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षतामा एवं तुलसीपुर १७ का वडाध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यमा र  प्रशिक्षण एवं  तुलसीपुर उपमहानगरका कृषि शाखा प्रमुख धनराज गौतमको विशिष्ट आतिथ्यमा भएको समापन कार्यक्रममा बोल्दै  तालिममा सहभागी मजगाउँका भौनाराम चौधरीले तालिमबाट धेरै कुराहरू सिक्न पाएको भन्दै खुसी व्यक्त गरे ।  

उनले तालिममा सिकेका कुराहरू साँच्चिकै व्यवहारमा लागू गर्न सकेमा बजारबाट तरकारी प्लाष्टिकमा बोकेर ल्याउनु जुन कार्य छ, त्यो अन्त्य हुने समेत बताए ।  उनले मौसमी र बेमौसमी तरकारी खेतीलाई व्यवसायिक रुपमा गर्न सकेमा स्थानीयहरूले आर्थिक आयआर्जन राम्रो गर्न सक्ने भन्दै यसले देशलाई नै फाइदा पुग्ने बताए । यस्तै उनले दक्ष प्रशिक्षकहरूबाट आफूहरूले २ दिनको  अवधिमा धेरै कुराहरू सिक्न पाएको भन्दै यसलाई व्यवहारमा लागू गर्न सकेमा मात्र यसको उपलब्ध हुने भन्दै अब आफूले बजारबाट प्लाष्टिकमा बोकेर तरकारी नल्याउने र घर मै उत्पादन गर्ने समेत  बताए ।

यस्तै सोही ठाउँकी कुमारी चौधरीले पनि पहिलो पटक यस्तो तालिम पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले मजगाउँ कृषि समुहलाई यो तालिम दिएको भन्दै उनले आफूहरूले तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्ने समेत बताइन् । उनले भनिन्,‘ हामीहरूले आफ्नो घरको लागि तरकारी खेती गर्दै आएका थियौँ । तर, त्यो सबैमा रासायनिक मल, विषादीहरू प्रयोग गर्ने गरेका थियौँ । यो  २ दिने तालिमबाट धेरै कुराहरू सिक्ने अवसर पाएका छौँ । अब हामी आफै अर्गानिक मल तयार गरेर अर्गानिक खेती गर्ने छौँ  । ’

यस्तै कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष पुरीले वडाले नागरिकहरूका लागि विभिन्न किसिमका सीप मूलक तालिमहरू प्रदान गर्दै आइरहेको भन्दै तालिमलाई तालिममा मात्र नभइ व्यवहारमा लागू गर्न आग्रह गरे ।  यस्तै अहिले सबैले बजारमा तरकारी किनेर ल्याउने गरेको भन्दै यसलाई विस्थापित गर्नतर्फ पनि सबैले ध्यान दिन जरुरी रहेको बताए ।  उनले भने,‘ हामी कसरी आत्मनिर्भर बन्ने र आफ्नो उत्पादनलाई  कसरी बढाउने भन्ने तर्फ ध्यान दिन जरुरी छ । बजारबाट ल्याएर कति दिनसम्म हामीले खाने ? अब सबैले अर्गानिक खेती गरेर आफूहरू वातावरणलाई स्वस्थ राख्न ध्यान दिन जरुरी छ ।’

यस्तै कार्यक्रममा  बोल्दै विशिष्ट अतिथि प्रशिक्षण गौतमले संस्थाले केही वर्षदेखि दाङका विभिन्न स्थानीय तहहरूमा यो किसिमको तालिम प्रदान गर्दै आइरहेको भन्दै अब किसानहरू अर्गानिक खेतीतर्फ जोडिएर उत्पादन धेरै गरी राम्रो आम्दानी गर्नु पर्ने बताए । पछिल्लो  समय रासायनिक मल र विषादीका कारण मानव स्वास्थ्य मात्र नभइ वातावरणलाई समेत असर पुगिरहेको अवस्थामा यस्ता तमिलहरूको महत्व रहेको हुँदा  तालिममा सिकाएका कुराहरूलाई आहारामा लागू गर्न आग्रह गरे । 

संस्थाका अध्यक्ष रावतका अनुसार २५ जना भन्दा बढि किसानहरुलाई उक्त तालिम प्रदान गरिएको थियो ।  यहाँका किसानहरुलाई यसअघि लोकल आलु, भाजीको विउ दिएको भन्दै उनले यस पटक पनि विभिन्न किसीमका तरकारीहरुको विउ दिएको बताए । उनले व्यवसायिक रुपमा खेती गर्ने किसानहरुलाई आफ्नो संस्थाले सहयोग गर्ने भन्दै जिल्लालाई विसं २०९० सम्म अर्गानिक जिल्ला बनाउने अभियानमा आफूहरू लागेको समेत बताए ।  उनका अनुसार पछिल्लो समय विषादियुक्त खानेले नसर्ने रोगका बिरामीहरु दिनप्रतिदिन बढिरहेका छन् । यस्तै उनले अब सबैले  अर्गानिक खेतीलाई ध्यान दिनु पर्ने समेत बताए । 

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस