सिमेन्ट उद्योगको दुई अर्ब ४८ करोड विद्युत महशुल बक्यौता

दाङ । दाङका ठूला सिमेन्ट उद्योगहरू विद्युत महशुल तिर्न अटेरी गर्दै आएका छन् । नेपाल विद्युत प्राधिकरणको तीनवटै वितरण केन्द्रका अनुसार जिल्लाका अन्य ग्राहकहरूको जम्मा १७ करोड ८९ लाख ४७ हजार रुपैयाँ बाँकी रहँदा, तीन ठूला सिमेन्ट उद्योगहरूको मात्र बक्यौता दुई अर्ब ४८ करोड २३ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका अनुसार, घोराही सिमेन्ट उद्योगको मात्र बक्यौता एक अर्ब ४८ करोड १३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सोनापुर सिमेन्ट उद्योगले ६२ करोड २५ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ ।

लोडसेडिङका समयमा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाइनमार्फत सिमेन्ट उद्योगहरूलाई विद्युत आपूर्ति गरेको थियो। तर, महशुल नतिर्ने प्रवृत्तिले अहिले प्राधिकरणलाई ठूलो आर्थिक संकटमा पार्ने खतरा बढेको छ ।

लमही वितरण केन्द्रको रिपोर्टअनुसार, सम्राट सिमेन्टले पनि ३७ करोड ८४ लाख रुपैयाँभन्दा बढी विद्युत महशुल बुझाउन बाँकी छ। लमही वितरण केन्द्रका अनुसार, सिमेन्ट उद्योगबाहेकका ग्राहकहरूको महशुल तिर्ने दर ९९ प्रतिशतभन्दा बढी रहेको छ।

नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन नियमावली, २०७८ अनुसार, मिटर रिडिङ गरेको ६० दिनसम्म महशुल नबुझाए जुनसुकै बेला पनि विद्युत सेवा काट्न सकिन्छ । तर, सिमेन्ट उद्योगहरूलाई भने बारम्बार सूचना दिँदा पनि कुनै ठोस कदम चालिएको छैन ।

स्थानीय उपभोक्ताहरू समयमै महशुल बुझाउने अवस्थामा पनि सिमेन्ट उद्योगहरूको अटेरीलाई नजरअन्दाज गर्नु अन्यायपूर्ण भएको उनीहरूको गुनासो छ । प्राधिकरणले अब कडाइ नगरे अझै बक्यौता रकम थपिने सम्भावना छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस