न्यून शुल्कमा शल्यक्रिया सेवा प्रदान गर्दै राप्ती प्रादेशिक अस्पताल

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडहर बस्ने केसरी पौडेल पौडेलकी छोरीलाई गत आइतबार विद्यालय गएको  बेला एक्कासि पेट दुख्यो । उनलाई धेरै पीडा भएपछि विद्यालयले घरमा  फोन गरेर जानकारी गरायो । उनको अवस्थाको बारेमा जानकारी पाएपछि केसरीले छोरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइन् ।  उनको सबै चेकजाँच गर्दा एपेन्डिक्सको लक्षण देखियो  र उनलाई शल्यक्रिया गर्नु पर्ने भयो । त्यसपछि उनको शल्यक्रिया अस्पताल मै राम्रोसँग भयो । आफ्नै ठाउँको अस्पतालमा कम शुल्कमा शल्यक्रिया   पछि र राम्रो सेवा पाएको  भन्दै केसरीले खुशी व्यक्त गरिन्  ।

उनले  भनिन्,‘ निजी  अस्पतालमा गरेको भए धेरै खर्च हुन्थ्यो, होला । तर, यस अस्पतालमा गर्दा बाहिरको भन्दा कम खर्च  लाग्ने रहेछ । हामीले स्वास्थ्य बिमा पनि गराएका  छौँ ।’ यस्तै शान्तिनगर गाउँपालिका २ सिमकी टुल्की डाँगीले चेकजाँच गराउँदा पित्तथैलीमा पत्थरी देखियो । डाक्टरहरूको सल्लाह अनुसार उनले शल्यक्रिया गर्नु पर्ने भयो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राम्रो उपचार हुँदैन, भन्ने हल्ला भइरहेको अवस्थामा उनलाई यस अस्पतालमा शल्यक्रिया   गर्न डर लागेको थियो । तर, उनले सोच भन्दा राम्रोसँग पित्तथैलीको शल्यक्रिया  भएको भन्दै खुशी व्यक्त गरिन् ।

उनले भनिन्,‘ यो अस्पतालमा  राम्रो उपचार हुँदैन, भनेर हल्ला  सुनेका थियौँ । बरु धेरै खर्च लागे पनि बाहिर शल्यक्रिया गर्ने की भन्ने लागेको थियो । पछि परिवारको सल्लाह अनुसार यही शल्यक्रिया गर्ने निधो ग¥र्यौ र मंसिर १० गते शल्यक्रिया भयो । धेरै डर लागेका थियो, तर, शल्यक्रिया राम्रो  भएपछि अहिले धेरै खुशी लागेको छ । हल्लाको भर परेको भए धेरै खर्च लाग्ने थियो, करिब २० हजार रुपैयाँमा शल्यक्रिया भयो । सेवा सुविधा पनि राम्रो रहेछ । ’उनले आफू मंसिर ९ गते अस्पताल आएको र १० गते शल्यक्रिया भएको समेत बताइन् ।यस्तै सल्यानका जीवन कुमार घर्ती मगरले पनि पित्तथैलीको शल्यक्रिया यसै अस्पतालमा गरेका छन् ।

उनको पनि मंसिर १० गते शल्यक्रिया भएको थियो । उनी वैदेशिक रोजगारीको लागि विदेशमा रहेको बेला चेकजाँच गराउँदा पित्तथैलीमा पत्थरी देखिएको थियो । उनले पित्तथैलीमा रहेको पत्थरी फाल्नको लागि शल्यक्रिया गर्नु पर्ने भएपछि निजी अस्पतालमा महँगो लाग्ने हुँदा यस अस्पतालमा पनि कम शुल्कमा शल्यक्रिया गर्न मिल्ने बारे जानकारी पाएपछि शल्यक्रिया गरेको बताए । यस्तै उनले पनि आफूले स्वास्थ्य बिमा बनाएको भन्दै त्यसमा पनि खर्च कम लाग्ने बताए । उनले पनि बाहिर हल्ला जस्तो नभएको भन्दै राम्रो सेवा सुविधा पाइरहेको र समय समयमा डाक्टरहरू आएर चेकजाँच गर्ने गरेको बताए ।

यस्तै रोल्पा माडी गाउँपालिका ३ तालाबाङमा ओमलाल बिक हर्नियाको शल्यक्रिया गर्न यस अस्पतालमा आएको बताए । उनी अस्पतालमा भर्ना भएको ५ दिन भयो । उनको अप्रेशनको गर्नको लागि भर्ना गरिएको हो । चिकित्सकले स्वास्थ्यको सबै चेकजाँच गरिसकेका हुँदा अब अप्रेशनको तयारीमा भर्ना भएको उनको भनाइ छ ।अस्पतालहरू धेरै भएयता पनि आफूलाई विश्वास लागेर नै यस अस्पतालमा आएको उनले बताए । उनले भने,‘ शुरुमा तुलसीपुरको एक निजी अस्पतालमा उपचार गर्न गएको थिए । शल्यक्रिया गर्नु पर्ने  भएकाले निजीमा भन्दा यस अस्पतालमा सस्तो र राम्रो सेवा पाइन्छ, भनेर आएको हुँ १ अहिलेसम्म राम्रै सेवा पाइरहेको छु । शल्यक्रिया  खर्च पनि निजी भन्दा कम लाग्ने रहेछ ।’

 गत वर्षमा ८ सय बढि बिरामीको शल्यक्रिया

अस्पतालका सूचना अधिकारी भुषण सुवेदीका अनुसार आर्थिक  वर्ष २०८०/ ८१ मा ८६२ जनाको विभिन्न शल्यक्रिया भएको थियो । जसमा १३० जनाको एपेन्डिक्स, १२४ जनाको पित्तथैली,  ९५ जनाको हर्निया,  १६ जनाको हाइड्रोसिल र अन्य शरीरका विभिन्न भागमा मासु पलाएको १५४ जनाको शल्यक्रिया भएको थियो । यस्तै चालु आर्थिक वर्षको कात्तिक महिनासम्म  ४८ जनाको एपेन्डिक्स, ५४ जनाको पित्तथैली,  ४४ जनाको हर्निया र अन्य विभिन्न ३६ जनाको शल्यक्रिया भएको उनले बताए ।

अस्पतालमा ३ जना सर्जन चिकित्सक

अस्पतालमा जनरल सर्जनमा कार्यरत डाक्टर सुवास लामिछानेका अनुसार शल्यक्रिया सेवालाई दुई भागमा बाँडेर सेवा  प्रदान गरिएको छ । इमरजेन्सीमा गर्नु पर्ने शल्यक्रियालाई पहिलो र अर्को केही समय लगाएर गर्नु पर्ने हुन्छ । इमरजेन्सीमा एपेन्डिक्स जस्ता शल्यक्रिया  हुने समेत उनले बताए । उनले भने,‘ इमरजेन्सीमा शल्यक्रिया गर्ने पर्ने बिरामीहरूको सबै जाँचको रिपोर्ट आएपछि जतिसक्यो चाँडो शल्यक्रिया गर्ने गरेका छौँ । कतिपय समय लिएर गर्नु पर्ने शल्यक्रियाको पनि हाम्रो अस्पतालमा धेरै दिन पर्खनु पर्ने अवस्था छैन् । हामीले जतिसक्यो चाँडो बिरामीहरूको उपचार गर्ने गरेका छौँ ।’

यस्तै उनले सोमबार र बुधबार हप्ताको दुई दिने समय दिएका बिरामीहरूको शल्यक्रिया हुने गरेको पनि  बताए । उनका अनुसार इलेक्ट्रीभ शल्यक्रिया गर्ने बिरामीहरूले एक साता भन्दा बढि समय कुर्न पर्दैन, सबैको पालो समय मै आउने गरेको छ । पित्तथैली, हर्निया , हाइड्रोसिल जस्ता समस्या भएका बिरामीको शल्यक्रिया सोमबार र बुधबार हुने र इमरजेन्सीको तत्काल हुने उनको भनाइ छ ।

यस्तै उनले अस्पताल प्रति धेरै आशङ्काहरू भइरहेको अवस्थामा त्यसलाई चिर्दै बिरामीहरूलाई राम्रो सेवा दिइरहेको समेत बताए । उनले भने,‘ सरकारी अस्पतालप्रति धेरै आशङ्का गरिएको हुन्छ । तर, जुन रुपमा आशङ्का गरिन्छ, तर, अस्पतालहरूमा त्यसो हुँदैन । हामीले हाम्रो तर्फबाट राम्रो सेवा दिइरहेका छौँ । जसले सेवा लिनु भएको छ, उहाँले मात्र थाहा पाउनु हुन्छ । हाम्रो ठाउँको अस्पतालको सेवा र विकासको लागि हामी सबै लागे मात्र सम्भव हुन्छ ।’  उनका अनुसार अहिले अस्पतालमा मेजर र माइनर गरेर दैनिक ८ देखि १० वटा इमर्जेन्सी शल्यक्रिया हुने गर्दछ । बिरामीहरूको विश्वास र अस्पतालको राम्रो सेवाका कारण नै सेवा लिने बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेको समेत उनले बताए ।

पालो कुर्ने अवस्था अन्त्य : मेसु अधिकारी
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारीका अनुसार केही वर्षदेखि अस्पतालको शल्यक्रिया विभाग राम्रो हुँदै आएको छ । शल्यक्रिया विभागमा ३ जना जनरल सर्जन, एक जना एमडी गरिरहेका डाक्टर रहेको उनले बताए । अस्पतालमा शल्यक्रिया को पाला कुर्नु पर्ने बाध्यता अन्त्य गर्ने अहिलेका स्वास्थ्य मन्त्रीले पनि भनेको र अस्पतालले पनि त्यो समस्या हटाउनको लागि दैनिक २/३ वटा शल्यक्रिया गराउने व्यवस्था मिलाएको हुँदा त्यो अन्त्य भएको समेत उनले बताए ।

अहिले अस्पतालमा साना  तथा ठूला जटिल प्रकारका शल्यक्रियाहरू हुने गरेको भन्दै उनले बिरामीले समय कुर्न पर्ने समेत बताए । यस्तै उनले शल्यक्रिया सेवा शुल्क पनि बाहिरको तुलनमा  आधा रहेको समेत बताए । उनले भने,‘ बाहिर निजी अस्पतालमा ६० हजार लाग्छ, भने हाम्रो अस्पतालमा ३० हजार मात्र सेवा शुल्क लाग्ने गर्दछ । बिरामीहरूले पनि एकदमै राम्रो सेवा सुविधा पाउनु हुन्छ । जसका कारण पनि शल्यक्रिया विभागमा बिरामीको चाप बढ्दै गइरहेको छ । ’ यस्तै उनले अस्पतालमा सेवा लिएका बिरामीहरूले अस्पतालको विश्वास गर्ने गरेको भएयता पनि अस्पतालबाट कहिँले सेवा नलिएकाहरूले बाहिर बाहिरबाट गलत प्रचार गर्ने गरेको भन्दै बाहिरको हल्ला जस्तो नभएको समेत बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस