लुम्बिनीमा कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी

दाङ । मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता लगाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अव आफ्नो ध्यान आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न केन्द्रित गरेका छन् । कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गर्दै नागरिक मैत्री सेवाका साथै आर्थिक अनुशासन र मितव्ययिताका लागि पहल गरेका छन् । प्रदेश सरकारले १४ बुँदे निर्देशन जारी गरेको छ । आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरेका हुन्। उनले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिएका छन् । ‘सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकले गुनासो गर्ने र त्यसलाई सम्बोधन गर्नेगरी योजना बनेको छ’ उनले भने ,‘बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्बोधन नगर्ने जस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न यो निर्देशन जारी गरेका हौँ ।’ प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आचारसंहिता लागू गरिसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आचारसंहिताको कसीमा राखेका उनले अव सेवा प्रवाहलाई चुस्त, नागरिकहरूले महसुस गर्नेगरी नतिजाको खोजी गर्न कर्मचारी तहमा निर्देशन जारी गरेका हुन् । प्रदेश स्थित निकाय तथा कार्यालयहरूले सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्न, आर्थिक गतिविधिमा मितव्ययिता कायम गर्न, खरिद एवं जिन्सी व्यवस्थापन, सूचना व्यवस्थापन एवं गुनासोको प्रभावकारी सम्बोधन गर्न, निकायगत समन्वय, अनुगमन एवं प्रतिवेदनका साथै सार्वजनिक जवाफदेहिता र सुशासन प्रवर्द्धनका लागि निर्देशन जारी गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट कार्यान्वयन सुरु गरेको छ । नीति तथा कार्यक्रम र बजेटको उद्देश्य प्राप्तिका लागी प्रदेश सरकारका निकाय तथा कार्यालयले वार्षिक विकास कार्यक्रमको कार्ययोजना बनाएर कार्यान्वयनको चरणमा लगेका हुन ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस