नेपालमा धेरै पार्टीहरूको खाँचो छैन : महासचिव पोखरेल

दाङ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरूलाई पाखा लगाएर नयाँ पार्टी खोलेर नेपालको राजनीतिक सही बाटोमा नजाने समेत बताए । शनिबार तुलसीपुर ११ हसनापुरमा दाङका कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।   उनले अमेरिका, बेलायत जस्ता देशमा सयौँ वर्षदेखि थोरै दलहरू हुँदा उनीहरु अगाडि बढेको भन्दै उनले अब नेपालमा धेरै पार्टीहरू नभइ बलिया र थोरै पार्टीहरूको खाँचो रहेको बताए । विकास र समृद्धिका  लागि थोरै र बलिया पार्टीहरू हुनु पर्ने उनको तर्क थियो ।

उनले भने,‘ नेपालमा काँग्रेस पनि भएन, एमाले पनि भएन, भनेर नानाथरिका पार्टीहरू खोल्नु भनेको देशलाई बरबाद पार्ने र समाजलाई अलमल्याउने कुरा हो ?’ यस्तै उनले कुनै एउटा क्षेत्रमा थोरै चर्चा हुने बित्तिकै त्यसले राजनीतिको सपना देख्न थाल्ने गरेको भन्दै राजनीति भनेको त्याग, तपस्या र बलिदानबाट गुज्रने चिज हो ? भन्ने कुरा थाहा नपाएर राजनीति गर्दा त्यो सफल नहुने समेत दाबी गरे ।उनले भने,‘ एउटा कुनै विद्यामा सफलता भएमा राजनीतिको पनि सफलता भइन्छ, भन्ने बुझाइ गतल हो । राजनीति भनेको आफ्नै मूल्य मान्यताको जगमा उभिएको हुन्छ, भन्ने कुरालाई बुझ्न जरुरी छ । ’ उनले अहिले समाजमा मुलरधाराका राजनीतिक दलहरू प्रति जुन प्रकारका अनास्था, अविश्वास पैदा गर्न काम भएको छ , यो समाजलाई पछाडि धकल्ने काम भएको पनि उल्लेख गरे ।

उनले राजनीतिलाई विचारको जगमा ध्रुविकरण गर्ने कुरा नै उचित कुरा भएको बताए । यस्तै उनले राज्यको संरचनागत प्रश्नमा र लोकतन्त्रका आधारभुत मूल्यका प्रश्नमा कांग्रेस एमाले जस्ता पार्टीहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए ।उनले भने,‘ यदि एक ठाउँमा नउभिए समाजलाई अस्थिरतातर्फ लैजानेहरू बलिया हुन सक्छन् । लोकतन्त्रका आधारभुत मूल्यहरूमा सदैव समझदारी र एक आपसमा विश्वास गर्नु पर्छ । ’ उनले नेपाली कांग्रेस एमालेको प्रतिस्पर्धी बाट भएको भन्दै तर नेपालको राजनीतिमा योगदान गरेका पार्टीहरू भित्र हेर्दा एमाले कांग्रेस हुन्, भन्ने कुरामा हिचकिचाउनु नपर्ने बताए ।

उनले कुन नितीका आधारमा यो समाजलाई अगाडि बढाउने भन्ने कुरामा स्पष्ट बहस गर्नु पर्ने समेत बताए । उनले भने,‘ कांग्रेस उद्धार प्रजातन्त्रको बाटोबाट अगाडि बढ्न चाहन्छ । हामी समाजवादको बाटोबाट अगाडि बढ्न चाहन्छौँ । यही चिजलाई बुझेर राजनीति गर्दा हुन्छ, को कता लाग्ने भन्ने कुराको निर्धारण यसैले गर्दछ ।  साथै, उनले स्वर्गीय श्रीमणी  आचार्यले कसले कसरी बुझ्यो, भन्ने कुराको आ–आफ्नो भोगाइ र बुझाइ रहेको भन्दै तर,  हामी सबैको मानसपटलमा  आचार्य जीवत् रहेको बताए ।  उनले आचार्यको क्रमले गर्दा आज जनताले आफै सालिक बनाएको भन्दै यो उदाहरणीय काम भएको बताए । उनले मालिकहरू धेरै बनेको भएयता पनि जनताले आफ्नो नेताका रुपमा सालिक बनाएको यो उदाहरणीय बन्न पुगेको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलिया शक्ति एकजुट हुनुपर्ने बताए । उनले   दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताए । उनले  टरिगाउँ बिनानस्थल चारलेन सडक र राप्ती राजमार्गको स्तरवृद्धि गर्न सबै एक भएर अघि वढ्नु पर्ने धारणा  राखे । 

सालिक अनावरण कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले सामाजिक व्यक्तित्व श्रीमणी आचार्यको चर्चा गरेका थिए । विकास निर्माण, शैक्षिक, राजनीतिक सम्पूर्ण क्षेत्रमा उहाँले खेलेको भूमिकाको बारेमा प्रशंसा गरेका थिए । कार्यक्रममा २०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका नेकपा एमालेका तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणी आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो। जनस्तरबाट रकम सङ्कलन गरेर सालिक निर्माण   गरिएको थियो।   आचार्यको सालिकको  महासचिव  पोखरेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य गिरीले अनावरण गरेका हुन ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस