विश्वकप खेल्ने टोली तय भइसकेको छैन : कप्तान रोहित

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ए सँगको शृंखलापछि उनले सञ्चारकर्मीसँग आयरल्याण्ड ‘ए’ भए पनि टोली राम्रो रहेको उल्लेख गर्दै टोलीका ५ खेलाडी सिनियर टोलीबाट खेलिसकेका समावेश रहेको बताए। 

उनले राष्ट्रिय टोलीमा अवसर नपाएका खेलाडीलाई पछिल्ला खेलमा खेलाएर प्रदर्शन सुधार्न पाइरहेको पनि उल्लेख गरे। कप्तान रोहितले कुशल भुर्तेल र कुशल मल्ललाई बलिङमा अवसर दिएर टोलीमा बलिङका लागि विकल्प तयार पारिएको उल्लेख गरे।

उनले भारतमा राम्रो तयारी गर्न पाए एसीसी प्रिमियर कपका लागि राम्रो हुने धारणा राखे। रोहितले भारतको स्टेटको टोली राम्रो रहेको पनि स्पष्ट पारे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आयरल्याण्डको टोलीसँग २ खेल जित्नु सुखद् पक्ष रहेको बताएका छन्।

टी–२० विश्वकप अगाडि राम्रो टोलीसँग खेल्नु र जित्नु राम्रो पक्ष हुने उनको भनाइ छ। उनले दुवै खेलमा समग्र टिम इफोर्ट देखिएको पनि बताए। शुरुवात र अन्त्यमा राम्रो ब्याटिङ हुँदा राम्रो योगफल बनाउन सफल भएको आसिफले बताए। 

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले टेस्ट राष्ट्रको ‘ए’ टोली कमजोर नहुने उल्लेख गर्दै एसोसिएट राष्ट्रसँग सेट टोली बनाउन विकल्प न्यून हुने पनि बताए।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस