तेस्रो हिरा डाँगी स्मृतिकप फुटबल भोलिदेखि सुरु हुँदै

दाङ ।  दाङ तुलसीपुर अरनिको मैदानमा आइतबार देखि तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० सुरु हुँदैछ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य  मन्त्री राजु खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन मध्याह्न साढे १२ बजे गरिने फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता ज्ञानज्योति तुलसीपुर र राइजिङ स्टार घोराही भिड्नेछन् । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्‍याउने  उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीति बहादुर गिरि प्रेसले जानकारी दिए ।  त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशनी गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५  हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।  त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिने संयोजक गिरिले जानकारी दि । २०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्मृति कप हुँदै आएको छ ।

पहिलो र दोस्रो  संस्करण भव्य रुपमा सफल पारेको फाउन्डेसनले स्मृति कप लाई थप सार्थक र परिणाममुखी बनाउन सशक्त ढंगले लागि परेको छ । फागुन २६ गते सम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । जसमध्ये साविक विजेता ज्ञानज्योति इनोभेटिभ फुटबल क्लब तुलसीपुर, छिमेकी राष्ट्र भारतको सहारा क्लब लखनउ , साविक उपविजेता टरिगाउँ युवा क्लब, युनाइटेड युथ क्लब तुलसीपुर, युएनबिसी युथ क्लब घोराही, सुर्खेत डिएफए, क्लब, फर्साटिकर रूपन्देही, लुम्बिनी प्रदेश फुटबल एकेडेमी, राइजिङ स्टार घोराही र एक विभागीय टिम एपीएफ लुम्बिनी प्रदेशको टिमको सहभागिता रहने आयोजक हिरा डाँगी फाउन्डेसनले जानकारी दिएकोछ ।

यसैबीच आयोजक हिरा डाँगी फाउन्डेसनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिताको प्रचार प्रसार, खेलमैदान मर्मत, आर्थिक व्यवस्थापन, आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कार, प्राथमिक उपचार लगायतका पक्षमा सबै तयारी पूरा भएको फाउन्डेसनका सचिव केशव चौधरी मिङ्माले जानकारी दिए ।  प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, संघ संस्था, पत्रकार लगायत सबैमा अनुरोध  गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस